मर्ने कसैलाई रहर हुँदैन
तर नमरेको प्रहर हुँदैन
भागेर जाउँ कुन ठाउँ जाउँ,
मान्छे नमर्ने शहर हुँदैन ।
डा. कृष्णहरि बरालले लेखेको यो गीतको पंक्ति जस्तै भएको छ अहिले देशको अवस्था ।
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको नियन्त्रण गर्न सरकारले आगामी वैशाख १५ गते सम्म लकडाउन गरेको छ । यो लकडाउन १५ गते सम्म नै हुन्छ या अझ लामो समय हुन्छ कुनै टुंगो छैन । देश ठप्प हुँदा अति विपन्न नागरिक दिनानुदिन पीडित बन्न थालेको कुरा विद्यमान छ । दैनिक ज्यालादारी गरी कमाएको पैसाले दुई छाकको जोहो गर्ने परिवारलाई यतिबेला भोको पेट कसरी भर्ने भन्ने चिन्ताले सताउन थालेको छ ।
हामीले स्कुले शिक्षा अध्ययनको क्रममा विभिन्न कार्यक्रमहरुमा ‘सहरिया जीवन भन्दा गाँउले जीवन नै बेश भन्ने’ शीर्षकको वादविवाद प्रतियोगिताको अहिले झल्झली याद आईरहेको छ । त्यो विषय अहिलेको बिषम् परिस्थितिसँग मिल्दोजुल्दो रहेको छ । त्यस्तै, उदयपुरको त्रियुगा नगरपालिका स्थित भुल्केमा यो लेख लेखिरहँदा सम्म २७ जनामा कोरोना भाइरसको पुष्टि भइसकेको अवस्था छ । देशको एकतिहाईँ संक्रमितको संख्या प्रदेश १ को यो जिल्लामा छ । अहिलेसम्म ४५ जनालाई कोरोना लागेको छ भने ७ जना निको भएर घर फर्किसकेको अवस्था छ । तथापि, यसले भयावह अवस्था लिने हो कि यत्तिमै टुंगिने हो भन्ने कुनै निश्चित भएको छैन ।
यसैबीच देशैभरीका मजदुरहरु भोको पेट कसरी पाल्ने भन्ने चिन्ताले ग्रसित छन् । सहरलाई कर्मथलो बनाउने मानिसहरु आफ्नो जन्मथलो फर्कन थालेका छ्न । जन्मथलो भन्ने वित्तिकै आमा झैँ लाग्ने स्थान हो । सुखमा होस या दुःखमा आफ्नो प्यारो गाउँ नै हो । आज जो जति मानिसहरु आफ्नो जन्मभूमिलाई छोडेर सहरमा बसेका छन् । भूलेर बसेका छैनन् आफ्नो गाँउलाई भूल्न सक्नु त आफ्नी आमालाई भूल्न सक्नु बरावर हो । मानिसहरु सहर, रहरमा बसेका छैनन् । किनकि, गाँउमा अहिले जस्तो सेवा सुविधाहरु नहुँनु, उच्च तहसम्म अध्ययन गर्नका लागि शिक्षाको पहुँच नहुँनु र स्वास्थ्योपचारका क्षेत्रको अभावले मानिसहरु सहर हिड्न बाध्य थिए । अहिले तीन तहका सरकार छ गाँउ, सहरमा दुवैमा । त्यसैले पनि खासै अन्तर छैन । गाउँबासीहरुले पनि अहिलेको यस्तो बिषम् परिस्थितिको अवस्थामा भोकको भन्दा पनि रोगको महामारीलाई ध्यानमा राखी केहि समय धैर्यताका साथ बसी आँफू र आफ्नाहरुलाई ख्याल गरिरहेका छन् । तर, सरकारको यसमा ध्यान गएको छैन । अहिले मानिस रोगबाट भन्दा पनि भोकबाट मर्ने स्थिति सृजना भइरहेको छ । भोकबाट … को मृत्यु भन्ने शीर्षकको समाचार आउँनुपूर्व नै सरकारले यसमा थप कदम चाल्न आवश्यक देखिन्छ ।
रोग र शोक नलागेमा हामी यस्तो विकराल परिस्थितिलाई चिर्न सक्छौँ । तर, भोक लागेमा त्यो सम्भव छैन । भोक र प्यासले सुकेका गलाले रोग र शोकलाई सामना गर्न कठीन हुँदोरहेछ । अन्त्यमा, सरकारले विपन्न नागरिक र मजदूरी गरेर खानेहरुको पहिचान गरी तत्काल आवश्यक राहत वितरण गरोस् । तपाईँ हामी सबैजना घरमै बसौँ, सुरक्षित रहौँ ।
(टाकुरान्यूजकर्मी पौडेल उदयपुरमा बसेर रिपोर्टिङ गर्छन् ।)
Discussion about this post