Friday, August 14, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

कचनकबलमा ‘सेतो सुन’को खेती

रासस by रासस
बैशाख २८, २०८३
in विविध, समाचार
0
कचनकबलमा ‘सेतो सुन’को खेती
60
SHARES
Share on FacebookShare on Twitter

झापा : मुलुकको सबैभन्दा होचो भू–भागका रूपमा परिचित झापाको कचनकबलका सिमखेतमा यतिबेला चैते धानका बाला होइन, कमल फूलजस्तै फराकिला र काँडेदार हरिया पात पानीमाथि तैरिएका छन् ।

यो दृश्य कोशी प्रदेशमै पहिलोपटक व्यावसायिक रूपमा सुरु गरिएको ‘मखना’ अर्थात् ‘सेतो सुन’ खेतीको हो ।

कचनकबल गाउँपालिका–४ का ६३ वर्षीय जेलेल मियाले यसपालि आफ्नो सात बिघा जग्गामा चैते धानखेती नगरी मखनाखेतीका लागि भाडामा दिएका छन् । वर्षको प्रतिबिघा ३० मन धान पाउने शर्तमा उनले जग्गा भाडामा दिएका हुन् ।

“वर्षौँदेखि धान र मकै खेती गर्दै आएको थिएँ”, मियाँ भन्छन्, “यसपालि मखनाखेती गर्छु भन्दै आउनेलाई जग्गा दिएँ । नयाँ खेती रहेछ, हेरौँ कस्तो हुँदोरहेछ ।”

जेलेल मात्र होइन, सोही वडाका बाहिल आलमले पनि आफ्नो १५ कट्ठा जग्गा झापा गाउँपालिका–४ का शाहिल शेखलाई मखनाखेतीका लागि भाडामा दिएका छन् । स्थानीय किसानका लागि यो खेती नयाँ प्रयोग बनेको छ भने व्यवसायीका लागि ठूलो सम्भावनाको ढोका खुलेको छ ।

विर्तामोडका जनक खड्काले समेत आफ्नो २० बिघा जग्गा मखनाखेतीका लागि दिएका छन् । यसरी विभिन्न किसानबाट भाडामा लिइएको १०० बिघा जमिनमा अहिले मखनाखेती विस्तार भइसकेको छ ।

कचनकबलमा मखनाखेती भित्र्याउने श्रेय शाहिल शेखलाई जान्छ । उनले भारतको पूर्णियामा रहेका आफ्ना नातेदारसँग साझेदारी गरेर यो खेती सुरु गरेका हुन् । नेपालमा मखनाको व्यावसायिक खेतीको इतिहास खासै नभएका बेला शेखले १०० बिघाभन्दा बढी जग्गा भाडामा लिएर ठूलो लगानी गरेका छन् ।

दुई महिनाअघिदेखि रोप्न सुरु गरिएको मखना अहिले खेतका गरामा कतै वयस्क हुँदैछ भने कतै भर्खर पात पलाउँदैछ । डिप बोरिङमार्फत निरन्तर सिँचाइको व्यवस्था गरिएको छ, किनकि मखनालाई पानी भरिएको खेत आवश्यक पर्छ ।

शेखका अनुसार भारतमा मखना प्रतिकिलो रु एक हजारभन्दा बढीमा बिक्री हुन्छ । एक बिघा जमिनमा झण्डै १०० केजी मखना उत्पादन हुने अनुमान गरिएको छ । यो अनुमान सही ठहरिए कचनकबलका सिमखेतले धानभन्दा धेरै गुणा बढी आर्थिक लाभ दिने देखिन्छ ।

मखना, जसलाई अङ्ग्रेजीमा ‘फक्स नट’ वा ‘लोटस सिड’ भनिन्छ, एक प्रकारको जलीय बिरुवा हो । कमलको फूलजस्तै देखिने यसको बोटमा काँडेदार पात हुन्छन् र यसको दानादार फल पानीमुनि फल्छ । स्वास्थ्यका दृष्टिले मखनालाई ‘सुपरफुड’ मानिन्छ । सेतो दाना हुने र बजार मूल्य उच्च भएकाले यसलाई ‘सेतो सुन’ भन्ने गरिएको हो ।

धानखेतीमा जस्तै माटो हिल्याएर मखनाको बीउ र बिरुवा रोपिन्छ । पानी सुक्यो भने बोट र पातमा असर पर्ने भएकाले वैकल्पिक सिँचाइको भरपर्दो व्यवस्था गरिएको हुन्छ ।

मखनामा प्रोटिन, फाइबर, पोटासियम र म्याग्नेसियम प्रशस्त पाइन्छ । मधुमेह, मुटुसम्बन्धी समस्या भएका तथा तौल घटाउन चाहनेका लागि यो उपयोगी मानिन्छ । यसमा कोलेस्ट्रोलको मात्रा शून्य हुन्छ ।

नेपालमा हाल मखना पूर्ण रूपमा भारतबाट आयात हुँदै आएको छ । भुटेर बनाइने ‘मखना फूल’ खाजाका रूपमा र पूजाआजामा प्रसादका रूपमा लोकप्रिय छ ।

मखनाखेतीले जग्गाधनीसँगै स्थानीय मजदुरलाई पनि रोजगारी दिएको छ । काँडेदार पातका बीचबाट पानीमुनि फल्ने दाना टिप्ने, रोप्ने र गोडमेल गर्ने काम चुनौतीपूर्ण हुने भएकाले भारतबाट दक्ष प्राविधिक ल्याइएको छ । उनीहरूलाई सहयोग गर्न स्थानीयले पनि काम पाएका छन् । स्थानीय मजदुरले दैनिक रु ६०० देखि ९०० सम्म पारिश्रमिक पाइरहेका छन् ।

स्थानीय ५९ वर्षीय राहिबुद्दिन मियाँले यो खेतीलाई कौतुहलतापूर्वक हेरिरहेका छन् । “भारतबाट बीउ र प्राविधिक आएका छन्”, उनी भन्छन्, “राम्रो फाइदा हुने देखियो भने अर्को वर्षदेखि हामी आफैँ पनि यो खेती गर्न सिक्नेछौँ ।”

कुनै पनि नयाँ सुरुआत जोखिममुक्त नहुने भन्दै जेलेल मियाँले धानखेती गर्दा प्रतिबिघा ७० देखि १०० मनसम्म उत्पादन हुने गरेको बताए । मखनाका लागि लिइएको भाडा दर त्यो तुलनामा कम भए पनि जोखिम मोलेर जग्गा दिएको उनको भनाइ छ ।

आगामी दुई महिनापछि मखनाले फल दिन थाल्नेछ । अहिले फूल फुल्ने मौसम चलिरहेको छ । यदि परीक्षण सफल भयो भने कचनकबल मात्र होइन, तराईका अन्य जिल्लामा पनि मखनाखेती विस्तार हुने सम्भावना देखिएको छ ।

बर्खामा जलमग्न भएर खेती गर्न कठिनाइ व्यहोर्दै आएका कचनकबलका किसान मखनाखेतीप्रति आकर्षित हुन थालेका छन् । तराईका सिमखेत मात्र होइन, सदाबहार पानी रहने प्राकृतिक तथा कृत्रिम पोखरीमा समेत यसको राम्रो सम्भावना रहेको बताइन्छ । सप्तरी, धनुषा र महोत्तरीलगायत मधेस प्रदेशका जिल्लामा सानो आकारमा यसको खेती भइरहेको पाइएको छ ।

मखनाखेती गरिएको जग्गामा निरन्तर पानी जम्ने भएकाले माछापालन गरेर दोहोरो लाभ लिन सकिने जानकार बताउँछन् । माछाको मलले मखनालाई उर्वर बनाउने र मखनाको पातले माछालाई सुरक्षा दिने कचनकबलका मखनाखेती सञ्चालक शाहिल शेखले बताए ।

झापा र मोरङसँग सीमा जोडिएको भारतको बिहार प्रदेश विश्वकै प्रमुख मखना उत्पादक क्षेत्र हो । विश्व बजारमा बिहारको मखनाले ९० प्रतिशत हिस्सा ओगटेको जनाइएको छ । बिहारको उत्पादन प्रविधि, जनशक्ति र अनुभव नेपालको तराई क्षेत्रका लागि उपयोगी नमूना बन्न सक्ने देखिन्छ ।

बिहारको मधुवनी, दरभंगा, कटिहार, पूर्णिया, सहरसा र सीतामढी मखनाखेतीका पकेट क्षेत्र मानिन्छन् । झापाको कचनकबलमा मखनाखेती गर्न पूर्णियाबाटै लगानी साझेदार आएका हुन् । भारत सरकारले गत वर्ष मखनाखेतीलाई प्रोत्साहन गर्न ‘मखना बोर्ड’ गठन गरेको छ ।

उच्च मूल्यमा बिक्री हुने र धानभन्दा बढी आम्दानी हुने भएकाले भविष्यमा कचनकबल गाउँपालिकालाई मखनाखेतीको पकेट क्षेत्रका रूपमा विकास गर्न सकिने सम्भावना रहेको शेखले बताए । यसका लागि स्थानीय सरकारले पनि चासो दिनुपर्ने उनको भनाइ छ ।

कचनकबल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले यसलाई सकारात्मक कृषि प्रयोगका रूपमा लिएका छन् । “यो हाम्रा लागि नमूना खेती हो, किसानले वास्तविक फाइदा कति पाउँछन् भन्ने हेर्न बाँकी छ”, उनले भने, “बाली पाकेपछि मात्र वास्तविक अवस्था थाहा हुन्छ । खेती सफल भयो भने पालिकाले किसानलाई मखनाखेतीतर्फ आकर्षित गर्न विशेष कार्यक्रम ल्याउनेछ ।”

कचनकबल स्तम्भ रहेको नेपालकै होचो भूभाग अवलोकन गर्न बर्सेनि हजारौँ आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् । स्तम्भ नजिकै रहेको मखनाखेतीले समेत पर्यटक आकर्षित गर्ने सम्भावना रहेको उपाध्यक्ष भट्टराईले बताए । उनले मखनाखेतीमा लागेका व्यवसायीसँग संवाद गरी यसको सम्भावनाबारे जानकारी लिने काम भइरहेको बताए ।

नेपालले वार्षिक करोडौँ रुपैयाँ बराबरको मखना भारतबाट आयात गर्दै आएको छ । कचनकबलमा सुरु भएको यो प्रयासले मुलुकलाई मखनामा आत्मनिर्भर बनाउने नयाँ सम्भावना देखाएको छ ।

धानको विकल्पमा उच्च आम्दानी दिने खेतीका रूपमा मखनाले कचनकबलका किसानको जीवनस्तर उकास्ने अपेक्षा गरिएको छ ।

सिमखेतको टिलपिल पानीमा तैरिइरहेका ती ठूला हरिया पातहरू एउटा बिरुवा मात्र होइनन्, ती त झापाका किसानका सपना हुन् । जसले भोलिका दिनमा ‘सेतो सुन’ फलाएर गाउँकै अनुहार बदल्ने अठोट बोकेका छन् ।

Tags: #झापा#राससखेती
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

‘इटहरीको सेरोफेरो’ पुस्तक तथ्यहीन र भ्रामक भएको दाबी, जानकार भन्छन्- इतिहास तोडमोड गरियो
FEATURE BREAKING

‘इटहरीको सेरोफेरो’ पुस्तक तथ्यहीन र भ्रामक भएको दाबी, जानकार भन्छन्- इतिहास तोडमोड गरियो

by टाकुरा न्यूज । इटहरी
साउन २८, २०८३
0

इटहरी : इटहरीको स्थानीय विषयवस्तु समेटिएको ‘इटहरीको सेरोफेरो’ नामक पुस्तकमा तथ्यहीन, असत्य र भ्रामक सामग्री राखिएको भन्दै पाँच जना स्थानीयले...

झापा : चार महिनामा जेईबाट पाँच जनाको मृत्यु, नौ जनामा संक्रमण पुष्टि
समाचार

झापा : चार महिनामा जेईबाट पाँच जनाको मृत्यु, नौ जनामा संक्रमण पुष्टि

by रासस
साउन २८, २०८३
0

झापा : जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट झापामा पछिल्लो चार महिनामा ५ जनाको मृत्यु भएको छ । जिल्लामा हालसम्म ९ जनामा...

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

साउन २८, २०८३
सुकुना प्रकरण : चार जना आरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र

सुकुना मावि प्रकरण : यौनजन्य दुर्व्यवहार आरोपमा पक्राउ परेका चार शिक्षक–कर्मचारी धरौटीमा रिहा

साउन २८, २०८३
भोजपुर : ऐतिहासिक ‘फलाम ढुङ्गा’को पर्यटन विकास योजना अलपत्र

भोजपुर : ऐतिहासिक ‘फलाम ढुङ्गा’को पर्यटन विकास योजना अलपत्र

साउन २८, २०८३
कोशी प्रदेशमा बीमा पहुँच विस्तार गर्न कार्यदल गठनको तयारी

कोशीमा कांग्रेस सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री कार्कीले भने- ‘सहकार्य महत्वपूर्ण रह्यो’

साउन २८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

‘इटहरीको सेरोफेरो’ पुस्तक तथ्यहीन र भ्रामक भएको दाबी, जानकार भन्छन्- इतिहास तोडमोड गरियो

‘इटहरीको सेरोफेरो’ पुस्तक तथ्यहीन र भ्रामक भएको दाबी, जानकार भन्छन्- इतिहास तोडमोड गरियो

साउन २८, २०८३
झापा : चार महिनामा जेईबाट पाँच जनाको मृत्यु, नौ जनामा संक्रमण पुष्टि

झापा : चार महिनामा जेईबाट पाँच जनाको मृत्यु, नौ जनामा संक्रमण पुष्टि

साउन २८, २०८३
करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

साउन २८, २०८३
सुकुना प्रकरण : चार जना आरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र

सुकुना मावि प्रकरण : यौनजन्य दुर्व्यवहार आरोपमा पक्राउ परेका चार शिक्षक–कर्मचारी धरौटीमा रिहा

साउन २८, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1114 shares
    Share 446 Tweet 279
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    636 shares
    Share 254 Tweet 159
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    445 shares
    Share 178 Tweet 111
  • इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

    373 shares
    Share 149 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.