जन्मदिन भनेको बिशेष दिन हो । जन्मदिन वर्षमा एक पटक आउँदछ र हरेक पटक हाम्रो परिचय देखि म तिमीलाई भेटेरै जन्मदिनको शुभकामना दिने गरेको थिएँ। आज विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोगका कारण देश ३७ दिन देखि ‘लकडाउन’ मा छ ।
राति १२ बजेको अलार्म सेट गरेर सुतेको थिएँ । तर, पौने १२ बजे नै निन्द्राले छोड्यो । लकडाउनको बीचमा तिमीलाई भेट्न असम्भव रहेका कारण १२ बज्नासाथ फोन बाटै भने–ह्याप्पी बर्थ डे टु यू मुटु, ह्याप्पी रिटर्न्स अफ दि डेज ।
तिमी निद्रामै थियौ तेसैले धेरै बोल्न उचित लागेन र फोन राखेँ । तर, मलाई निद्रा परेन मनमा विभिन्न कुराहरु खेलिरहे मेरो को हौ तिमी ? हाम्रो पहिलो भेट, माया, झगडा र करिअर यस्तै यस्तै ।
पहिलो भेट :
लोकसेवा आयोग क्षेत्रीय कार्यालय पोखराको प्राङ्गणमा तिमी आफ्ना साथीहरुसंग खरिदारको फाराम भर्दै थियौ । कुरा ०७१ सालतिरको हुनुपर्छ । मिति गते, बार, ठ्याक्कै दिमागमा याद भएन । तर, त्यो दिन अझै पनि मानसपटलमा स्मृति बनेर घुमिरहेको छ । हामी एक–अर्कासंग नबोलिकन नै परिचित थियौं ।
आँखा जुध्यो बोलचाल भएन २ महिनापछि संयोगबस एउटै परीक्षा केन्द्रमा परियो । लोकसेवामा रुचि भएको म तिम्रो पनि लोकसेवा प्रति रुचि देखेपछि खुशी लाग्यो । सामान्य बोलचाल (प्रश्न उत्तर) यो नै हाम्रो औपचारिक परिचय थियो ।
बिहे अघिका पलहरु :
संगै पढ्ने साथीहरु बीच प्रेम अनि करिअरका सम्बन्धमा भइरहेको छलफलमा मैले साथीहरुकै अगाडि जिस्किएरै भनेँ, तिमी मलाई मनपर्छ ।’ मेरो कुरालाई तिमी लगायत सबै साथिहरुले सामान्य रुपमा नै लिए ।
मैले जिस्किएर भने पनि यही नै प्रेम प्रस्ताव भइदियो । फेरि फूलको गुच्छासहित प्रस्ताव गर्नु परेन ।
हामी निकट भइसकेका थियौँ, केही महिनापछि तिम्रो जन्मदिन आयो ख्याल–ख्यालमा लेकसाइडमा जन्मदिन मनाइयो । शुभकामना दिए उपहार दिनलाइ म संग केही विशेष चिज पनि भएन । अनि एउटा किताब (वि.वि.एस) कै किताब दिएँ । यो नै पहिलो अनि बिहे अघिको अन्तिम उपहार थियो ।
स्नातक पछि म आफ्नो करिअरका लागि काठमाण्डौँ तर्फ लागेँ तिमी पोखरामै त्यस बखत गीतकार शीतल गिरीले लेखेको र प्रमोद खरेलको सुमधूर स्वरमा गाईएको चर्चित गीत _
म बिना कसैकसैलाई मुश्किल छ पोखरामा ।
म छु आज धेरै टाढा मेरो दिल छ पोखरामा ।
सुनिरहन्थेँ, यो गीत मेरै लागि बनाइएको हो भन्ने लाग्थ्यो ।
मेरा लागि जागिर छाड्यौ :
प्रेम सम्बन्ध भनेर त्यस्तो डेटिङ जाने, फिल्म हेर्न जाने भन्ने थिएन । कहिलेकाहीँ भेट्थ्यौँ । फोनमा सुखःदुखका कुराहरु सेयर गरिन्थो । यसैबीच विवाह सम्पन्न भयो । सबैकुरा मन परेरै होला तिमीप्रति आजसम्म मेरो कुनै गुनासो छैन । सरु, मेरा हरेक सपनाहरुमा साथ दियौ, दिनेछौ पनि। मेरा लागि पोखराको जागिर छाडेर इटहरी सम्म आइपुग्यौ । भाग्य बस तत्कालै इटहरीमा पनि पुनःजागिर पाइयो । खुशीको कुरा हो, मेरा लागि आफ्ना सपनालार्इ भुल्न सक्ने तिमी महान हौ ।
साना कुरामा असन्तुष्टि हुदाँ घरायसी सामान्य ठाकठुक जस्तो हुन्छ । मायामा यति त हुनुपर्छ जस्तो लाग्छ मलाई । तर, हामी झगडा गरेर नबोलेको भन्ने छैन, म त सक्दिनँ पनि ।
सबैभन्दा प्यारो सम्बन्ध श्रीमती :
मलाई सबैभन्दा प्यारो सम्बन्ध तिमीसंग लाग्छ प्रिय । बा–आमालाई आफन्त भनिदैन, उहाँहरु भगवान् हुनुहुन्छ । उहाँहरुलाई सम्बन्ध नातेदार भनिन्दैन उहाँहरुलाई पूजा गरिन्छ । दिदीबहिनीसंग सम्बन्ध जन्मजात नै हुन्छ । तर, तिमीसंग मेरो केही नजिकको नाता सम्बन्ध नभएता पनि तिमी सदैबको लागि मेरी हौ ।
आफ्नो सारा आफन्तलाई वास्ता नगरी मेरो सबै सुख–दुःखमा अन्तिम श्वास रहेसम्म सहभागी हुँन आउँने तिमी श्रीमती, प्रेमिका, अर्धांगिनी मेरो प्राण हौ ।
अन्त्यमा , आज धेरै नै खुशी छु म । किनकि, आज खास अनि धेरै नै बिशेष दिन हो मेरो लागि । आज मेरो मुटुको जन्मदिन खुशी नहुँने त कुरै भएन । सायद यो दिन तिम्रो जन्मदिन नभएको भए कसरी म तिमीलाई पाउँथे होला र ? धन्यवाद त भगवानलाई म नदिई रहन सक्दिन । किनकि, तिमीलाई मेरो लागि यो धर्तिमा पठाउनु भयो ।
अनि कृतज्ञता प्रकट गर्न चाहन्छु जसले तिमीलाई जन्म दिनुभयो । मेरो अन्तर हृदय देखि जन्म दिनको लाखौं करोडौं अनिगिन्ती शुभकामना प्रिय तिमीलाई । तिम्रो दीर्घायु सु–स्वास्थ्य अनि प्रगतिको कामना ।
तिमीलाई १२५ औं जन्मदिनसम्म शुभकामना ब्यक्त गरिरहन पाँउ । होम क्वारेन्टाइनबाट जन्मदिनको शुभकामना धेरै धेरै शुभकामना प्रिय ।
(रेग्मी समसामयिक बिषयमा कलम चलाउँछन् । यो लेख उनको निजी विचार हो ।)
Discussion about this post