इटहरी : दमक नगरपालिका इटहरीमा जारी स्वर्गीय गिरिजा प्रसाद कोइराला स्मृति अन्तर नगरपालिका फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा इटहरी उपमहानगरपालिकालाई २–१ गोल अन्तरले पराजित गर्दै दमक नगरपालिकाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
दमकको जितमा किस्मत लिम्बू एक्लैले २ गोल गरे । उनले खेलको ५२ औँ र ७३ औँ मिनेटमा गोल गरेका थिए । इटहरीका लागि एक मात्र गोल निकेश तामाङले खेलको ७० औँ मिनेटमा गरेका थिए ।
उक्त खेलको म्यान अफ द म्याच २ गोल गरेका लिम्बू नै घोषित भए । उनलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व राष्टिय खेलाडी सुरेन्द्र तामाङले नगद ३ हजार सहित ट्रफी प्रदान गरे ।
दमक नगरपालिकाले अब सेमिफाइनलमा चैत्र १८ गते सुनसरीको इनरुवा नगरपालिकासँग प्रतिष्पर्धा गर्नेछ । इनरुवा यसअघि नै उदयपुरको चौदण्डीगढी नगरपालिकालाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरिसकेको छ ।
इटहरीस्थित क्षेत्रीय रंगशालामा जारी प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा मंगलबार बिराटनगर महानगरपालिका र धनकुटा नगरपालिकाबीच खेल हुने प्रतियोगिता संयोजक सूर्य राइले जानकारी दिए ।
प्रतियोगितामा प्रदेश १ का ८ वटा नगरपालिकाका टिम सहभागी छन् । प्रतियोगिताको विजेता टिमले २ लाख उपविजेतालाई १ लाख पुरस्कार पाउने छन् ।
यो पनि – गिरिजाप्रसाद कोइराला अन्तर नगरपालिका स्तरीय फुटबल प्रतियोगिता : इनरुवा सेमिफाइनलमा
यो पनि — गिरिजाप्रसाद कोइराला अन्तर नगरपालिका स्तरीय फुटबल प्रतियोगिता : धरान सेमिफाइनलमा
Discussion about this post