इटहरी : दोस्रो लहरको कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै गएपछि सुनसरीमा तीनदिनभित्र सबै स्थानीय तहहरुमा आइसोलेसन सेन्टरहरु तयार गरेर राख्ने निर्णय भएको छ ।
आज (सोमबार) सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा जिल्ला समन्वय प्रमुख तथा स्थानीय तहका प्रमुख, उपप्रमुखहरुको उपस्थितिमा भएको डिसिसिएमसि बैठकले उक्त निर्णय गरेको हो ।
तीनदिनभित्र सबै स्थानीय तहलाई आइसोलेसन सेन्टरहरु तयार राख्न अनुरोध गर्ने बैठकले निर्णय गरेको छ ।
सोही बैठकले संक्रमण विकराल स्थिति आउन नदिन जिल्लाको सम्पुर्ण सरकारी तथा निजी विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र मंगलबारदेखि पुर्णरुपमा बन्द गराउने निर्णय गरेको छ ।
साथै, शिक्षा मन्त्रालयको निर्देशन अनुसार बैकल्पिक शिक्षण सिकाई प्रविधि प्रयोग गरि सञ्चालनमा गर्न भने पाउने बैठकको निर्णय छ ।
यसैगरि, जिल्ला भित्रका सरकारी, गैर सरकारी, बित्तिय संस्था, बैंक आदिमा भिडभाड हुन नदिन दुरी निर्धारण, स्वास्थ्य सुरक्षा मापदण्ड पालनाका साथै सर्वसाधारणलाई मर्का नपर्ने गरी आलोपालो सेवा उपलब्ध गराउने व्यवस्था गर्ने पनि निर्णय भएको छ । सार्वजनिक यातायात, मुख्य बजार तथा राजमार्गमा अनुगमन गर्न जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत संयोजक रहेको अनुगमन समिति गठन गरेर तत्काल काम प्रारम्भ गर्ने पनि निर्णय भएको छ ।














Discussion about this post