इनरुवा : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादव जबरजस्ती करणीको अभियोगमा प्रहरी हिरासतमा पुगेपछि अधिकार सम्पन्न बनेकी सो गाउँपालिकाकी उपाध्यक्ष पुनम कुमारी मेहताले सरकारी निर्णयको धज्जी उडाउँदै निषेधाज्ञाकाबीच आफ्नो अधिनमा रहेको विभिन्न शीर्षकको बजेटहरु देखावटी रुपमा खर्चिएकी छिन् ।
कोरोनाको संक्रमण नियन्त्रण बाहिर जान थालेपछि देशका बिभिन्न जिल्लामा गरिएको निषेधाज्ञा सुनसरीमा समेत लागू रहेपनि सो को धज्जी उडाउँदै भोक्राहा नरसिंह गाउँपालिकाकी उपाध्यक्ष मेहताले शनिवार गाउँपालिका नजिक रहेको लोटस होटलमा आयोजित गाउँपालिकाकै विभिन्न दुईवटा कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी भएकी छिन् ।
शनिवार विहानबाट जारी ती कार्यक्रमहरुमा उपाध्यक्ष मेहता सहित गैर सरकारी संस्थाका पदाधिकारी एव तीन दर्जन बढी युवायुवतीको सहभागिता रहेको थियो ।
सुनसरी प्रशासनले जिल्ला भित्र कुनै पनि किसिमको गोष्ठी, सेमिनार, तालिम लगायतका गतिविधिहरुमा पूर्ण रुपमा प्रतिवन्ध लगाएपनि सो गाउँपालिकाकी उपाध्यक्ष मेहता र केही गैर सरकारी संस्थाको मिलोमतोमा लाखौं बराबर गाउँपालिकाको रकम कागजमै खर्चिने क्रम बढेको सो क्षेत्रका स्थानीयहरु बताउँछन् ।
उपाध्यक्ष मेहतालाई महिला बालबालिका तथा न्यायिक समिति सम्वन्धित बजेट खर्च गर्ने पूर्ण अधिकार गाउँपरिषद्ले दिएर उनी मार्फत नै सो सम्वन्धि विभिन्न कार्यक्रमहरु गैर सरकारी संस्था मार्फत चल्दै आएको छ ।
सो गाउँपालिकाका अध्यक्ष मेहन्द्र प्रसाद यादव प्रहरी नियन्त्रणमा गएदेखि एकछत्र गर्न थालेकी उपाध्यक्ष मेहताले केही दिनयता निरन्तर लाखौंको कार्यक्रम विभिन्न ठाउँमा गराउँदै आएको स्थानीयबासी बताउँछन् । श्रोतका अनुसार उपाध्यक्ष मेहताले आँफू निकट व्यक्तिहरुलाई ५० प्रतिशत बाँडफाँड हुने गरी विभिन्न कार्यक्रमहरु दिने र सो कार्यक्रमको प्रमुख आतिथ्यता गर्ने गरेकी छिन् ।
शनिवार भोक्राहा नरसिंह गाउँपालिकाको लगभग तीन लाख बजेटबाट लौकहीको ग्रामीण बहुउद्धेशीय व्यवस्थापन तथा सहकार्य केन्द्र (आरयुटीई) को आयोजनामा लैङ्गिक हिंसा न्यूनीकरणका लागि सचेतना अभिबृद्धि कार्यक्रमको नाममा सरकारले गरेको निषेधाज्ञाका बीच उपाध्यक्ष मेहता प्रमुख अतिथि भई सम्पन्न गरिएको छ ।
सोही दिन एकै हलमा अर्को एक कार्यक्रममा समेत उपाध्यक्ष मेहता सहभागि भएकी थिईन् ।














Discussion about this post