विराटनगर : कोशी प्रदेशको राजधानी विराटनगरमा राष्ट्रियस्तरकै खेल महोत्सवका रूपमा ‘विराट क्रिकेट लिग २०८३ (कर्पोरेट संस्करण)’ आयोजना हुने भएको छ ।
विक्रम संवत् म्यानेजमेन्ट र नेपाल क्रिकेट फाउन्डेसनको संयुक्त आयोजनामा आगामी मंसिर २६ र २७ गते यो प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
विराटनगर–६ स्थित म्यारीबोन ज्वाला क्रिकेट मैदानमा हुने यस दुई दिने राष्ट्रिय प्रतियोगितामा देशभरिका विभिन्न व्यावसायिक घराना तथा कर्पोरेट क्षेत्रका प्रतिष्ठित ८ टोलीहरूले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितालाई छिटो, रोमाञ्चक र प्रतिस्पर्धात्मक बनाउन विशेष ढाँचा तय गरिएको छ । लिग चरणका खेलहरू सुपर ६ (प्रति खेल ६ ओभर) को ढाँचामा सञ्चालन हुनेछन् भने सेमिफाइनल तथा फाइनल खेलहरू प्रति खेल १० ओभरका हुनेछन् ।
यो प्रतियोगिता क्रिकेटमा मात्र सीमित नभई देशैभरका व्यावसायिक नेतृत्व, उद्यमी तथा कर्पोरेट व्यक्तित्वहरूबीचको आपसी सम्बन्ध विस्तार (कर्पोरेट नेटवर्किङ)को साझा मञ्च बन्ने आयोजक संस्थाका विवेक दाहालले बताए ।
प्रतियोगिता अवधिभर मैदान परिसरलाई एउटा उत्सवका रूपमा सजाउने तयारी गरिएको छ । खेलसँगै दर्शक, खेलाडी तथा पाहुनाहरूका लागि विविध कार्यक्रम, आकर्षक सांगीतिक प्रस्तुति तथा स्वादिष्ट स्थानीय र राष्ट्रिय परिकारका फुड स्टलहरू रहनेछन् ।
यस प्रतियोगिताले कोशी प्रदेशको पर्यटनमा समेत थप फाइदा पुग्ने अपेक्षा गरिएको छ ।
देशभरका कर्पोरेट जगतलाई खेलकुदको माध्यमबाट एउटै थलोमा जोड्ने यस महाकुम्भमा सहभागिताका लागि टिम दर्ता प्रक्रिया चाँडै खुला गरिने आयोजकले जनाएको छ ।
















Discussion about this post