इटहरी : झन्डै चार बर्षअघि विनासकारी बाढीबाट इटहरीमा एकै घरका तीन जनासहित दस जना बेपत्ता भए । जसमध्ये ८ जनाको शव भेटियो । दुईजना अझै बेपत्ता छन् ।
इटहरी वडा नं. ४ को गैरीगाउँका एकैघरका रामकुमार राई, आशा राई र निमेष राईलाई बाढीले बगायो । यीमध्ये आशाको शव भेटियो । रामकुमार र निमेषको शव अझै भेटिएको छैन । आशा र राजकुमार श्रीमान–श्रीमती हुन् भने निमेष छोरा ।
आशा र राजकुमारकोमा पाहुना गएकी सानुमाया राई छ घण्टा बगेर बच्न सफल भइन् । उनको त्यो घटना सम्झदा अहिले पनि स्थानीयको आङ् नै सिरिङ् हुन्छ ।
बाढीमा दस किलोमिटर बगेकी सानुमाया चार वर्ष अघिको घटना सम्झदै भन्छिन्, ‘दिउँसै बाढी आएको हल्लाले गर्दा राति निन्द्रा लागेको थिएन, उहाँहरु सुति सक्नुभएको थियो ।’ उनका अनुसार राति उज्यालोले सुतेको खटिया मुनीसम्म पानी आएको देखिन् अनि कराइन् । उनले जोडले कराएपछि दिदी–भिनाजुसँगै अरु भाईबहिनी उठे ।
बाहिर निस्कन लाग्दा दिदी आशादेवी राईं र भिनाजु राजकुमार राईंलाई खोलाले बगायो । दिदी भिनाजुका दुई जना छोराछोरीलाई पनि बगायो । तर, गाउँलेले केही बेरमै उद्दार गरे । त्यही बेला उनलाई पनि खोलाले बगायो । सानुले निरन्तर हात–खुट्टा चलाइन् । बीच बीचमा ठूला ठूला झाडी र रुखमा उनी ठोकिने गर्थिन् । घरीघरी उनलाई बाढीले भित्र पसाउन्थ्यो त घरीघरी बाहिर निकाल्थ्यो । उनले आँखा नहेरीकन निरन्तर संघर्ष गरिरहिन् ।
बर्षायाम सुरु भएपछि इटहरी गैरीगाउँका बासिन्दाले सानुमायालाई सम्झन्छन्, सानुमाया र उनले भोगेका कथा सुन्न लालायित बन्छन् । तर, वर्षेनी यो समस्या दोहोरिदाँ त्रासमा बस्न बाध्य रहेको स्थानीयको भनाइ छ ।
स्थानीय राजकुमार भुजेल भन्छन्, ‘बर्सेनि बाढीको समस्या दोहोरिदाँ त्रासमा बस्न बाध्य छौँ, सरकारले जहिल्यै पनि घटना भइसकेपछि मात्रै चासो देखाएजस्तो गर्छ ।’ स्थानीय बुढीखोलामा आएको बाढीले बर्सेनि गैरीगाउँलाई पिरोल्छ । स्थानीय सरकारले त्यसको दीर्घकालीन समाधान नगरेका कारण यो समस्या झेल्नुपरेको उनको भनाइ छ ।
‘जहिल्यै पनि असार, साउनमा बाढी आउँछ, केही न केही क्षती गरेरै जान्छ,’ उनले केही आक्रोश पोखिएको अनुहारसहित भने, ‘यहाँका अधिक घरपरिवार मजदूरी नै गरेर जीविकोपार्जन गर्ने भएकाले अन्नबालीमा पनि बाढीले क्षति पुर्याउछ, पशुपंक्षीमा पनि बाढीले क्षति गर्ने गरेको छ, यसबारेमा हाम्रो गुनासो सुनिदिने कोही नै छैन ।’
०७४ सालको घटना पुनः नदोहरियोस् भनेर इटहरी उपमहानगरले २०७५ साल पौष २८ गतेबाट राष्ट्रपति चुरे संरक्षणबाट आएको करिब ६० लाख र अन्य स्रोत जुटाएर तारजाली लगाएर नदी नियन्त्रण गर्ने प्रयास गरेपनि तटबन्धन भत्किएको छ । तटबन्धनका कारण केही हदसम्म भएपनि बाढी नियन्त्रण भएपनि तटबन्धन भत्किदाँ त्रासमा रात बिताउन बाध्य भएको स्थानीय बताउँछन् ।
स्थानीय तहले मुख्य आयस्रोतका रूपमा नदीजन्य पदार्थ उत्खनन गर्न ठेक्का दिएपछि तटबन्धन भत्किएको स्थानीय मञ्जु साफीले बताइन् ।
‘नेताहरुले यहाँको मिसगिटी सबै ट्याक्टरमा हालेर लगेको कारण यहाँ बाढी पस्ने गरेको छ,’ उनले भनिन्, ‘करीब १४ बर्ष अगाडि त खोला ठूलो थियो, अहिले त स्थानीय मानिसहरुले पनि खोला मिचेका कारण सानो भएकाले गाउँमा बाढी पस्ने गरेको छ, दिनदिनै ढुंगा, बालुवा खोलाबाट लग्ने गरेका छन् ।’
बाढीका कारण बर्सेनि इटहरी ४ गैरीगाउँका बासिन्दालाई प्रत्यक्ष नकारात्मक प्रभाव पार्ने गरेको उनी बताउँछिन् ।
०७५ मा टीकाप्रसाद पराजुलीको अध्यक्षमा एक समितिबाट तटबन्धन निर्माण भएको थियो । कामको सुरुवातमै चित्तबुझ्दो काम नभएको भन्दै निर्माण गरिसकिएको जाली वाल पुनः निर्माण गरिएको थियो । निर्माण समितिले जग नै नखनी माथि माथि जाली लगाउँदा यस्तो समस्या आएको स्थानीयको बुझाई छ ।
यता, इटहरी ४ का वडाध्यक्ष चन्द्र भट्टराईले भने आँफूहरुले बर्सेनि रुपमा तटबन्धनको काम गरिराखेको प्रतिक्रिया दिए । उनले भने, ‘थोरै पैसा आउँछ, थोरै काम गर्नुपर्छ, सामान्य बाढी आउँदा त त्यस्तो खतरा हुँदैन ।’
विशेषगरी वर्सेनि इटहरीका ३, ४, ६, ९, १०, ११ नं. वडाका बासिन्दा बाढीबाट प्रत्यक्ष प्रभावित बन्दै आएका छन् । यसअघि चालु आर्थिक वर्ष २०७७/७८ मा १ कराड ५० लाख रुपैँया नदि नियन्त्रणका लागि छुट्याएको इटहरी उपमहानगरपालिकाले प्रभावकारी काम गर्न नसक्दा बाढीपीडित जहिल्यै त्रासमा बस्न बाध्य छन् ।
नदि नियन्त्रण योजनामा ९ वटा खालाहरु थिए । ती मध्ये बुढीखोला मानव धर्म छेउमा २० लाख रुपैँया बजेट परेको थियो ।
तर, प्रभावकारी काम नहुँदा स्थानीयले बर्सेनि सास्ती बेहोर्नुपरेको छ ।
Discussion about this post