इटहरी (डेस्क) : झापा र मोरङका दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार इलाका प्रहरी कार्यालय झिलझीलेबाट खटिएको प्रहरी टोलीले शिवसताक्षी नगरपालिका ११ बाट ३ जनालाई नियन्त्रित लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा स्थानीय २१ वर्षीय सौरभ कडरिया, २२ वर्षीय निशान न्यौपाने र याशोक गाउँपालिका २ पाँचथर घर भइ सोही स्थानमा बस्दै आएका २८ वर्षीय प्रकाश खड्का रहेका छन् ।
उनीहरूको साथबाट प्रहरीले ३ ग्राम ५०० मिलिग्राम लागूऔषध ब्राउनसुगर र नगद सात हजार बरामद गरेको छ ।
यस्तै, मोरङको विराटनगर महानगरपालिका ६ बाट लागूऔषध ट्याब्लेटसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
केशलिया मार्गबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका ८ का ३८ वर्षीय अम्बर बहादुर गदाललाई लागूऔषध लुपिजेसिक ३२ एम्पुल सहित पक्राउ गरेको हो ।
लागूऔषध सहित पक्राउ परेका चारै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।












Discussion about this post