इटहरी : इटहरीमा एक महिला मृत फेला परेकी छन् । इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार इटहरी १९ महौलियास्थित एक महिला मृत फेला परेकी हुन् ।
प्रहरीलाई झुण्डिएर आत्महत्या गरेको भन्ने सूचना आएपनि घटनाको प्रकृतिले हत्या भएको आशंका गरिएको उनले बताए ।
उनका अुनसार आज (मंगलबार) बिहान करीब साढे ७ बजे स्थानीय २७ वर्षीय सुनीतादेवी साह मृत फेला परेकी हुन् ।
‘साँझ श्रीमान–श्रीमती झगडा गरेका रहेछन्, बिहानै आत्महत्या भएको खबर आएको थियो,’ खड्काले टाकुरासँग फोन सम्पर्कमा भने, ‘आत्महत्या हो वा हत्या भन्नेबारे अनुसन्धानको क्रममा छौँ, शव पोष्टमार्टमका लागि पठाइएको छ ।’
उनका अुनसार शव पोष्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । उनका अनुसार श्रीमान लबकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जाहरी दर्ता भइसकेकाले घटनाबारे अनुसन्धानको क्रममा रहेको उनले बताए ।
‘श्रीमानलाई नियन्त्रणमा लिएर कारबाहीको प्रक्रिया पनि अगाडि बढाएका छौँ, भोलि जिल्ला अदालतबाट म्याद थप गर्ने तयारी भएको छ,’ डीएसपी खड्काले भने, ‘स्थानीयले झुण्डिएको अवस्थामै देखेको भनेपनि शब खाटमा रहेका कारण आशंका गर्ने ठाउँ छ, यद्यपि पोष्टमार्टमको रिपोर्टबाट सबै कुरा खुल्छ ।’
स्थानीयका अनुसार निम्न वर्गीय परिवार रहेका साह श्रीमतीसँग दैनिकजसो झगडा गर्थे । आवेशमा भएको झगडाले सुनीताको मृत्यु भएको स्थानीयको दाबी छ ।
‘दिनहुँजसो मादक पदार्थ सेवन गरेर झगडा हुन्थ्यो,’ घटनास्थलमा भेटिएका स्थानीय एकले भने, ‘हिजो पनि सामान्य झगडा नै होला भन्ने सोच्यौँ, बिहान मृत फेला पर्दा नसोचेको घटना भयो ।’














Discussion about this post