इटहरी : गतवर्ष फौजी किराका कारण उत्पादन घटेपछि सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ७ का सरोज यादवले यसपटक मकैबाली लगाएनन् । आफ्नो ३१ कट्ठा जमिनमा मकै लगाउँदै आएका यादवले यसपटक गहुँ लगाए ।
एक कट्ठामा ७ क्वीन्टलसम्म मकै उत्पादन भएपनि गत वर्ष फौजी किराका कारण मकै उत्पादन घटेकाले यसवर्ष गहुँ लगाएको उनी बताउँछन् । ‘मकै क्वीन्टलको तीन हजारसम्म बिक्री हुन्थ्यो, तर गत वर्ष फौजी किराका कारण उत्पादन घटेकाले यस वर्ष गहुँबाली लगाएको हुँ,’ उनले भने, ‘बेसिजनमा पनि मकै उत्पादन हुन्थ्यो तर फौजी किराका कारण समस्या हुने गरेको छ ।’
यादव प्रतिनिधि पात्र मात्र हुन् । यहाँका धेरैजसो कृषकहरूले अहिले लगाउँदै आएको बाली परिवर्तन गरेका छन् । जिल्लामै भोक्राहा नरसिंह मकै बाली राम्रो उत्पादन हुने ठाउँ हो ।
गाउँपालिका अन्तरगत रहेका कृषि विकास शाखाका अनुसार यहाँ करीब ३ सय विघा जमिनमा मकै खेती हुने गरेको छ । पालिकाले गाउँका विभिन्न ठाउँलाई मकै ब्लक क्षेत्र घोषणा गरेर अनुदानका कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको कृषि शाखा प्रमुख रेनुका चौधरीले बताइन् ।
ब्लक क्षेत्रमा १ सय ५० विघा क्षेत्रफलमा मकै खेती गरिन्छ । यहाँ स्थानीयका अलावा अन्यत्रका व्यवसायीहरूले जग्गा लिजमा लिएर समेत खेती गर्दै आएका छन् ।
तर, अहिले फौजी किराको प्रकोप ठूलो समस्याको रुपमा खडा भएको स्थानीयको भनाई छ । स्थानीय शंकर मेहता भन्छन्, ‘यसैवर्षबाट मकै खेती सुरु गरेको थिएँ, पहिलो गाँसमै ढुंगा भनेजस्तै भयो ।’
उनले अहिले स्थानीय भेटनरीसँग सल्लाह लिएर मकैमा बिषादि छरेपनि फौजी किराको प्रकोप झन् बढ्दो रहेको बताए ।
वडा नम्बर २ का चन्दन मेहताले खेतमा मकै लगाएको दुई महिनामै पाँच पटक बिषादि छरेपनि किराको असर उस्तै रहेकाले समस्या भइरहेको बताए । उनले करिब १० कट्ठा जमिनमा मकै लगाएका छन् । अघिल्ला वर्षहरूमा थोरै खर्चमै मनग्य आम्दानी हुनेभएपनि यस वर्षभने समस्या भएको बताए ।
यता जुटबाली अनुसन्धान कार्यालय इटहरीका कार्यालय प्रमुख तीर्थनाथ रिजाल र भोक्राहा नरसिंह गाउँपालिका अन्तरगत रहेका कृषि शाखाका प्रविधिक सहायक रेनुका चौधरी सहितको टोलीले मकैबाली अनुगमन समेत गरेका छन् ।
Discussion about this post