इटहरी : इटहरी उपमहानगरपालिकाको मेयर पदका लागि पदम अधिकारीले स्वतन्त्र उमेद्वारी दिने घोषणा गरेका छन् ।
आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा इटहरीको मेयरका लागि अधिकारीले स्वतन्त्र उमेद्वारी दिने घोषणा गरेका हुन् ।
इटहरीमा पत्रकार सम्मेलन गर्दै उनले स्थानीय तहमा निर्दलीय चुनाव हुनुपर्ने बताए ।
‘स्थानीय तहमा निर्दलीय रूपमा चुनाव हुनुपर्छ भनेर स्वतन्त्र उमेद्वारी घोषणा गरेको हुँ,’ उनले भने, ‘दल भनेको साधन होइन, साध्य हो ।’
उनले आफूले दलमा रहेर ४० वर्षसम्म योगदान गरेको भएपनि गत भदौ १ गतेबाट कुनै पनि दलमा नरहेको घोषणा गरेका थिए ।
‘दलमा नरहेपनि राजनीतिमा रहेको उदाहरण दिनका लागि पनि मेरो उमेद्वारी हो,’ उनले भने, ‘लोकतन्त्र भनेको दलतन्त्र मात्रै होइन, त्यसैले स्वतन्त्र उमेद्वारी दिएको हुँ ।’
उनले इटहरीको कला साहित्य, पर्यटन, खेलकुद, औद्योगिक एवम् थारु संस्कृतिको संरक्षणमा अनुभूति हुने किसिमको काम गर्ने बताए । सुपर समृद्धिको योजनासहित आफ्नो उमेद्वारी रहेको उनले बताए ।
नेकपा एमालेबाट राजनीतिक यात्रा सुरु गरेका उनी पछिल्लो समय जनता समाजवादी पार्टीमा आवद्व थिए ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
Discussion about this post