इटहरी : नेकपा माओबादी केन्द्र इटहरी उपमहानगरपालिका कमिटिका इन्चार्ज मदन चुडालले गठबन्धनबाट जो कोही उमेद्वार भएपनि जिताउनुपर्ने बताएका छन् ।
केन्द्रको निर्देशन अनुसार गठबन्धनले जसलाई उमेद्वार बनाएपनि आफूहरूले जिताउनुपर्ने बताएका हुन् ।
‘गठबन्धनको जे निर्णय हुन्छ, त्यो हामीलाई स्वीकार छ,’ चुडालले टाकुरान्यूजसँग भने, ‘गठबन्धनका उमेद्वार हाम्रो उमेद्वार हुन्, जो कोहीले टिकट पाएपनि हामीले जिताउनुपर्छ ।’
उनले तत्कालीन समयमा ओली सरकारले गरेको प्रतिनिधिसभा विघटनविरुद्व उभिने दलहरू अहिले एक भएर चुनावमा सहभागी हुन लागेकाले गठबन्धनका उमेद्वारलाई जिताउन अपिल गरे ।
उनले भने, ‘प्रतिगमनविरुद्व एक भएर उभिएका दलहरू आज एक भएर निर्वाचनमा जाने तयारी छ, गठबन्धनमा पार्टीका तर्फबाट जसले घात गर्छ, उसलाई कारबाही हुन्छ ।’
गठबन्धनको बैठकबाट इटहरीका विभिन्न वडामा माओबादी केन्द्रले वडाध्यक्षमा नेतृत्व गर्ने चुडालको दाबी छ । ‘अहिले यो पार्टी, त्यो पार्टी होइन, गठबन्धन जिताउने हाम्रो उदेश्य हो ।’ उनले भने ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा इटहरीमा नेपाली कांग्रेसले मेयर र नेकपा एकीकृत समाजवादी पार्टी (एस) ले उपमेयर पाउने गठबन्धनको निर्णय छ ।
Discussion about this post