धरान : नेपाल आयल निगमले पेट्रोलियम पदाथमा बढाएको मूल्यवृद्धि विरुद्ध सत्ता गठबन्धनकै भातृ संघ–संगठनहरू आन्दोलनमा उत्रिएका छन् ।
धरानमा सत्ता गठबन्धनमा रहेर सरकारको नेतृत्व गरेको नेपाली कांगेसका भातृ संघ संस्थाहरूले बुधबार मूल्य बृद्धि फिर्ताको माग गर्दै सिटी जुलुस निकालेका हुन् ।
नेपाली कांग्रेस सम्बद्ध नेपाल विद्यार्थी संघ सुनसरी क्षेत्र नं. १ समिति, नेपाल तरुण दल सुनसरी क्षेत्र नंं. १ र धरान नगर समितिले धरान २ सिंहदेवीचौकबाट सिटी जुलुस ¥याली निकालेका थिए । धरानको भानुचौकमा कोणसभा गर्दै ¥याली समापन भएको थियो ।
कार्यक्रममा बोल्दै तरुण दल धरान नगर समितिका सभापति नरसिंह राईले पछिल्लो समय दिनानुदिन मूल्यवृद्वि भएका कारण आफूहरू आन्दोलनमा उत्रनु परेको बताए ।

नेपाल विद्यार्थी संघ सुनसरी क्षेत्र नं. १ का सचिव दोर्ची शेर्पाले सर्वसाधारणको जनजीवन नै कष्टकर हुनेगरी मूल्य वृद्धिको विरुद्धमा बाध्य भएर आफूहरूले आन्दोलन गरेको बताए ।
जनताको समस्याभन्दा पार्टी र सरकार ठूलो नभएको उदृत गर्दै उनले मूल्य वृद्वि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने समेत चेतावनी दिए ।
कोण सभामा तरुण दल क्षेत्रीय सचिव रोजन रणपहेलीले बोल्दै तत्काल मूल्यवृद्वि फिर्ता हुनुपर्ने अन्यथा आन्दोलन झन् चर्किने बताए ।
Discussion about this post