इटहरी : नेकपा (माओवादी केन्द्र) ले प्रत्यक्ष र समानुपातिकमा सिफारिस भइसकेका व्यक्तिलाई आगामी निर्वाचनको समानुपातिक सूचीका लागि सिफारिस नगर्न मातहतका समितिलाई ‘सर्कुलर’ गरेको छ ।
माओवादी केन्द्र प्रदेश १ को विराटनगरमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।
‘प्रत्यक्ष र समानुपातिककमा एउटै व्यक्तिको नाम सिफारिस गर्न पाइने छैन,’ मातहतको कमिटिमा पठाएको ‘सर्कुलर’मा उल्लेख छ, ‘समानुपातिक उम्मेदवारको नाम सिफारिस गर्दा क्लस्टर मिलाएर गर्नुपर्ने छ र हालसम्म प्रत्यक्ष वा समानुपातिकबाट प्रदेशसभा र प्रतिनिधिसभा सदस्य भइसक्नु भएका कमरेडहरूको नाम समानुपातिक उम्मेद्वारमा सिफारिस गर्न पाइने छैन ।’
‘सर्कुलर’मा सबै उम्मेदवारहरूको सिफारिस सम्बन्धित समिति बैठकको माइन्युट निर्णयसहित भदौ २० गतेभित्र प्रदेश कार्यालयमा पठाइसक्न पनि निर्देशन दिइएको छ ।
सो बैठकले एक मात्र संघीय निर्वाचन क्षेत्र रहेको जिल्लामा जिल्ला संयोजकले बैठकको संयोजन गर्ने र एक भन्दा बढी संघीय निर्वाचन क्षेत्र रहेको जिल्लामा संघीय निर्वाचन परिचालन समिति प्रमुखले बैठकको संयोजन गर्ने र जिल्लाले सहयोग गर्नुपर्ने निर्णय पनि गरेको छ ।
त्यस्ता बैठकले सम्बन्धित संघीय निर्वाचन क्षेत्रमा रहेका पार्टी केन्द्रीय सदस्यहरू, प्रदेश पदाधिकारीहरू, सांसदहरू, जिल्ला समन्वय समितिका पदाधिकारीहरू, पार्टीका प्रदेश सदस्य, प्रदेश निर्वाचन परिचालन समितिका प्रमुख, संघीय र प्रदेश निर्वाचन क्षेत्रका इन्चार्ज र संयोजकहरूको संयुुक्त बैठकमा सर्वसम्मत भए एक जना र नभएमा बढीमा तीन जना प्रतिनिधिसभा उम्मेदवारको नाम सिफारिस गर्नुपर्ने उल्लेख छ ।
यस्तै, बैठकले झापा गौरादह नगरपालिकाका अध्यक्ष डण्डीराज घिमिरे, उपाध्यक्ष सुलोचना राजवंशी र सचिव शेरबहादुर कार्कीले दिएको राजीनामा स्वीकृत पनि गरेको छ । उक्त समितिको बैठक बहालवाला उपाध्यक्षको नेतृत्वमा बसेर पदाधिकारीको चयन प्रक्रिया अगाडि बढाउन पनि निर्देशन दिएको छ ।
यस्तै, ताप्लेजुङ जिल्लाका प्रदेश सदस्यहरूको कार्यविभाजनमा असन्तुष्टी जनाई उक्त जिम्मेवारीबाट राजीनामा बुझाउने विजय प्रकाश बनेम, लक्ष्मी आङछाङ्बो, ठाकुरसिंह लिम्बू र दावा छिरिङ शेर्पाको राजीनामा पनि स्वीकृत गरेको छ ।
उनीहरु प्रदेश सदस्यमा भने यथावत् रहेको माओवादी केन्द्रले जनाएको छ ।














Discussion about this post