इटहरी : नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. २ (क) ले प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि नाम सिफारिस गरेको छ ।
सरकारले मंसिर ४ लाई निर्वाचनको मिति तोकेसँगै बुधबार (आज) बसेको बैठकले क्षेत्र नं. २ (क) ले प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि नाम सिफारिस गरेको हो ।
सभापति सुबेक्छु देवान राईका अनुसार बुधबार महाधिवेशन प्रतिनिधिसहित बसेको बैठकले प्रतिनिधिसभाका लागि प्रत्यक्षमा तीनजनाको नाम सिफारिस गरेको छ ।
जसअनुसार राजीव ढुंगाना, राजीव कोइराला र सीताराम मेहता छन् । ढुंगाना नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेविसंघका निवर्तमान सभापति हुन् ।
यस्तै, कोइराला केन्द्रीय सदस्य तथा प्रदेश १ का संसदीय दलका नेता छन् भने मेहता प्रतिनिधिसभाका वर्तमान सांसद तथा पूर्व राज्यमन्त्री हुन् ।
समानुपातिकतर्फ भने दिलकुमारी राई र वीरेन्द्र कार्कीको नाम सिफारिस भएको छ । राई पूर्व केन्द्रीय सदस्य हुन् भने कार्की इटहरीका पुराना नेता हुन् ।
यस्तै, प्रदेशसभाको प्रत्यक्षमा भीम पौडेल, विकास केसी र बद्रीनारायण चौधरीको नाम सिफारिस गरिएको छ ।
पौडेल उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष तथा महाधिवेशन प्रतिनिधि समेत हुन् । उनी यसअघि इटहरी उपमहानगरपालिकामा मेयरको ‘रेस’ मा थिए ।
यस्तै, केसी महाधिवेशन प्रतिनिधि तथा नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष हुन् । उनी कांग्रेसको १४ औँ महाधिवेशनमा इटहरी उपमहानगरपालिकाको सभापतिमा पराजित बनेका थिए ।
चौधरी ०७० को संविधानसभा सदस्यमा सुनसरी क्षेत्र नं. २ बाट निर्वाचनमा सहभागी भएपनि पराजित बनेका थिए ।
उनी हाल महाधिवेशन प्रतिनिधि पनि छन् ।
समानुपातिकमा गीता श्रेष्ठ, सुबेक्छु देवान राई, नगेशचन्द्र राई, सूर्य राई, दामोदर दाहाल, केशवप्रसाद भट्टराई, विमला शिवाकोटी ढकाल, बबिता चौधरी, रामप्रसाद विक र रमेश पोखरेलको नाम सिफारिस भएको छ ।
श्रेष्ठ जिल्ला सदस्य तथा महिला नेत्री हुन् भने सुबेक्छु सुनसरी २ (क) का सभापति छन् । यस्तै, नगेशचन्द्र कांग्रेस जिल्ला उपसभापति तथा सूर्य प्रदेश सदस्य हुन् ।
‘केन्द्रको परिपत्र अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षमा तीनजनाको मात्रै नाम सिफारिस गर्नुपर्ने भएकाले सोही अनुसारको नाम सिफारिस गरिएको हो,’ सभापति देवानले भने, ‘समानुपातिकमा भने धेरै आकांक्षी भएको र क्लष्टर अनुसार सिफारिस गरिएको हो ।’
Discussion about this post