इटहरी : ०४६ सालदेखि राजनीतिमा सक्रिय रहेका इटहरी २० निवासी नगेशचन्द्र राई आफूले उर्जाशील समय राजनीतिमा समर्पण गरेको बताउँछन् ।
इटहरी आउनुअघि भोजपुरमै हुँदादेखि नै राजनीतिमा सक्रिय रहेका उनी अहिले नेपाली कांग्रेस सुनसरीका उपसभापति हुन् ।
यसअघि कांग्रेस जिल्ला सदस्य, सहसचिव हुँदै अहिले उपसभापति रहेका राई भन्छन्, ‘जीवनको उर्जाशील समय राजनीतिमै समर्पण गरेको छु, किशोर अवस्थादेखि नै यो अवस्थासम्म राजनीतिमै समय व्यतित गरेको छु ।’
सरकारले मंसिर ४ गतेलाई प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति घोषणा गरेसँगै उनले थप सक्रियता देखाएका छन् ।
जिल्लास्तरमा हरेकजसो कार्यक्रममा सहभागी हुँदै आएका उनले विभिन्न संघसंस्थामा नेतृत्व गरिसकेका छन् । पार्टीको १४ औँ महाधिवेशनबाट उपसभापतिमा निर्वाचित भएका राईको लगाव र सक्रियता अहिले पनि लोभलाग्दो छ ।
उनले भने, ‘पार्टीको उर्जाशील समय राजनीतिमै खर्चिएकाले अहिले त बानी भइसक्यो, हरेक ठाउँमा पुग्नैपर्छ भन्ने लाग्छ ।’
२० वर्षकै कलिलो उमेरमै भोजपुर जिल्लाको तत्कालीन दोभाने गाउँ पञ्चायतको उपप्रधानपञ्च भई काम गरेका उनलाई अहिले नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. २ (क) ले प्रदेशसभा सदस्यका लागि समानुपातिकमा नाम अघि सारेसँगै उत्साहित छन् ।
उनीसहित १० जनाको नाम समानुपातिकमा पठाइएको छ । आफूले निरन्तर राजनीतिमै समय खर्चिएका कारण आज पार्टीले समानुपातिकमा नाम पठाएको उनको बुझाई छ ।
‘किशोर अवस्थादेखि नै निरन्तर कांग्रेसमै रहेर विभिन्न योगदान गर्दै आएको छु,’ उनी भन्छन्, ‘शिक्षासँगै सामाजिक क्षेत्रमा पनि योगदान गर्दै आएको छु, सोही कारण आज पार्टीले समानुपातिकमा नाम पठाएको छ ।’
२०४५ सालको विनाशकारी भुकल्पले क्षतविक्षत मुलुकको पुःननिर्माणका लागि तत्कालीन सरकारले भूकम्प आयोजना निर्माण गरेको थियो । राई २०५१ सालमा त्यही भूकम्प आयोजनाको पूर्वाञ्चल क्षेत्रीय प्रमुख भई आफ्नै नेतृत्वमा पूर्वाञ्चलभरीका सबै सरकारी विद्यालयहरूको भवन निर्माण सम्पन्न गरेको स्मरण गर्छन् ।
‘त्यसबेला शिक्षा क्षेत्रमा काम गर्नका लागि राम्रो अनुभव भयो,’ उनले भने, ‘शिक्षा क्षेत्रमै काम गरिरहेको मलाई भूकम्प आयोजनाको पूर्वाञ्चल क्षेत्रको प्रमुख भएर काम गर्दा नयाँ अनुभव भयो ।’
आफ्नो उर्जाशील युवावस्था पार्टी र समाजका लागि सर्मपित गरेका राईको सामाजिक संलग्नता स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म लोभलाग्दो छ ।
किराँत राई यायोख्खाको केन्द्रीय सदस्य समेत रहेका राईले सुनसरीमा मात्र नभएर आफ्नो जन्मस्थान भोजपुरमा समेत भोजपुर–सुनसरी सेवा समाजमा आवद्ध भएर निरन्तर सामाजिक गतिविधि गर्दै आएका छन् ।
उनी भन्छन्, ‘राजनीतिसँगै सामाजिक काम गर्न पाउँदा आनन्दित हुन्छु ।’
यो पनि – कांग्रेस सुनसरी क्षेत्र नं. २ (क) बाट प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि यी नाम सिफारिस
Discussion about this post