इटहरी : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकर्तालाई सर्प जस्तो डस्ने खालको हुन निर्देशन दिएका छन् ।
शनिबार सुनसरी क्षेत्र नं. ३ मा पर्ने दुहबीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘तपाईँहरू छुने बित्तिकै गँड्यौला जस्तो लल्याकलुलुक होइन, सर्पजस्तो डस्ने खालको हुनुहोस् ।’
कांग्रेस नेता तथा पूर्व उपप्रधानमन्त्री समेत रहेका विजय गच्छदारको निर्वाचन क्षेत्र पर्ने यहाँ ओलीले धाँधली गरेर चुनाव हुनसक्ने भएकाले सर्पजस्तो डस्ने खालको हुन कार्यकर्तालाई निर्देशन दिए ।
अघिल्लो निर्वाचनमा एमालेकी भगवती चौधरीलाई राज्य नै लागिपरेर, प्रहरी प्रशासनसहित बाक्सा साटेर निर्वाचन हराएको उनको टिप्पणी छ ।
‘आगामी चुनावमा फेरि त्यो किसिमका घटना दोहोरिन सक्छन्, त्यसैकारण तपाईँहरू चनाखो हुनुहोस्,’ उनले यसअघि भने, ‘अहिलेको गठबन्धन सरकार आउनासाथ देश आर्थिक संकटग्रस्त अवस्थामा पुगेको छ ।’
उनले आगामी चुनावमा सङ्घ तथा प्रदेशका नेकपा एमालेको बहुमत आउने समेत दाबी गरे ।
अहिलको गठबन्धन सरकारले देशलाई कङ्गाल बनाएको आरोप लगाउँदै ओलीले आर्थिक अवस्था पुरानै लयमा फर्काउन तथा देशलाई समृद्विको यात्रामा अगाडि बढाउन एमाले सरकारको आवश्यक रहेको बताए ।
आफ्नो सरकार रहँदा देशमा विकासका लहरहरू भइरहेपनि वर्तमान सरकारले विकास विरोधी गतिविधि गरेको उनको भनाई छ ।
कार्यक्रममा नेकपा एमालेकी केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला सह–इन्चार्ज भगवती चौधरीले सुनसरी क्षेत्र नम्बर ३ अत्यन्त संवेदनशील र महँगो क्षेत्र भएको बताइन् ।
उनले राज्य संयन्त्र लागेकै कारण आफूले दुई पटकसम्म हार्नुपरेको दाबी गरिन् ।
‘यो निर्वाचन क्षेत्र देशकै उच्च संवेदनशील, खर्चालु र महँगो क्षेत्र बनेको छ,’ उनले कांग्रेस नेता गच्छदारप्रति इङ्गित गर्दै भनिन्, ‘यो क्षेत्रमा चुनाव जित्दाजित्दै पनि हारिन्छ, अदालसम्म गएको मुद्वा फैसला हुँदैन ।’
Discussion about this post