इटहरी : नेकपा एमाले सुनसरी क्षेत्र नं. ३ बाट भगवती चौधरीको एकल नाम सिफारिस भएको छ ।
प्रतिनिधिसभा क्षेत्र नं. ३ मा चौधरीको एकल नाम सिफारिस भएको हो । दुईपटकसम्म नेपाली कांग्रेसका विजयकुमार गच्छदारसँग पराजित भएकी उनी एमाले अध्यक्ष केपी शर्मा ओलीको निकट मानिन्छिन् ।
सुनसरी क्षेत्र नं. ३ समन्वय समितिका संयोजक समेत रहेका रेवती घिमिरेले सर्वसम्मत निर्णयले चौधरीलाई प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फका लागि सिफारिस गरिएको हो ।
“हामीले उहाँको नाम सर्वसम्मत गरी जिल्लामा सिफारिस गरेका छौँ,” उनले भने ।
नेकपा एमाले सुनसरी क्षेत्र नं. ३ (क) ले प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको पनि नाम सिफारिस गरेको छ । आगामी मंसिर ४ लाई सरकारले निर्वाचनको मिति तोकेसँगै एमाले सुनसरी क्षेत्र नं. ३ (क) ले १३ जनाको नाम सिफारिस गरेको हो ।
सिफारिसमा पर्ने उम्मेदवारहरूमा तैयव हुसैन, सागर सुवेदी, रेवती घिमिरे, ढण्डमाया भण्डारी, रुपेश बस्नेत, रोहित कार्की, समीर कार्की, एकराज दाहाल, सत्यनारायण चौधरी, लिलम बस्नेत, हरि राई, मुस्ताक आलम र साविर हुसैन रहेका छन् ।
यस्तै, क्षेत्र नं. ३ (ख) बाट प्रदेशसभाको प्रत्यक्षमा नौ जनाको नाम सिफारिस भएको छ ।
सिफारिसमा पर्ने उम्मेदवारहरूमा रामदेव यादव, रामसेवक यादव, गोविन्द घिमिरे, मुरारी घिमिरे, विश्वेव गुरुङ, बालेश्वर चौधरी, टेकचन विश्वास, महेन्द्र यादव र रामेसर यादव रहेका छन् ।












Discussion about this post