इटहरी : असोज २८ गतेदेखि पोखरामा सुरु हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत विराटनगरमा जारी भइरहेको प्रदेश नं. १ को पुरुष फुटबल छनौट खेलको फाइनल खेलमा सुनसरी र मोरङबीच प्रतिस्पर्धा हुने भएको छ ।
शुक्रबार भएको पहिलो सेमीफाइनल खेलमा संखुवासभालाई मोरङले ३–० गोलले पराजित गर्दै फाइनल पुगेको हो ।
मोरङका लागि खेलको १९ र ६४ औं मिनेटमा भुवन बस्नेतले गोल गरे भने थप १ गोल ७६ औं मिनेटमा कैलाश बस्नेतले गोल गर्दै आफ्नो टिमलाई फाइनल पुर्याए ।
यस्तै, विराटनगरमा रहेको सहिद रंगशालामा सुनसरी र भोजपुरबीचको दोस्रो सेमीफाइनल खेलमा सुनसरीले २–० गोलले जित्दै फाइनल पुगेको हो ।
सुनसरी र भोजपुरबीचको खेलमा दुवै टिम सुरुदेखि नै तनावपुर्ण रुपमा खेलका थिए ।
सुनसरीका लागि खेलको ११ औं मिनेटमा मिलन राईले फ्रिकिकबाट गोल गर्दै अग्रता दिलाएका थिए । यस्तै, ३९ औं मिनेटमा दिनेश राईले थप १ गोल गर्दै पहिलो हाफमा सुनसरीले २–० को अग्रता लिएको थियो ।
त्यसपछि निर्धारित समयमा दुवै टिमबाट थप गोल नभएपछि सुनसरीले मोरङसंगको भेट पक्का गरेको हो । अब सहिद रंगशालामा शनिबार सुनसरी र मोरङबीच फाइनल खेल हुनेछ ।














Discussion about this post