झापा : झापाको अर्जुनधारा नगरपालिका ११ स्थित बसपार्क क्षेत्रमा बस्दै आएका सिदिम्बा ४ सुरुमखिम ताप्लेजुङका २५ वर्षीय नवीन्द्र गुरुङको हत्यामा संलग्न रहेको आरोपमा एक महिलासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका ११ स्थित बसपार्कमा रहेको ताप्लेजुङ–इलाम होटलका सञ्चालक ३८ वर्षीय इन्द्रबहादुर अधिकारी, सोही होटलका स्टाफ फिदिम नगरपालिका १२ का २१ वर्षीय अमृत आचार्य र आचार्यकी श्रीमती २३ वर्षीया विमला राई रहेका छन् ।
उनीहरूले गत असोज १७ गते गुरुङलाई होटलको कोठामा ढुङ्गाको लोहोरो र चक्कु समेत प्रहार गरी अचेत बनाएर होटल भन्दा १५० मिटर टाढा अर्जुनधारा ११ स्थित प्लटिङ रहेको खाली जग्गाको सडक किनारामा फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
असोज १७ गते गुरुङ र उनीहरूबीच होटलको कोठामा मादक पदार्थ सेवन गरी तास खेल्ने क्रममा वादविवाद भइ झगडा हुँदा लोहोरो र चक्कु प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।













Discussion about this post