इटहरी : नेकपा एमालेकी नेत्री तथा सुनसरी क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यकी उम्मेदवार भगवती चौधरीले विवादास्पद अभिव्यक्ति दिएकी छन् ।
बिहीबार इटहरी उपमहानगरपालिका वडा नं. १४ मा आयोजित चुनावी भेटघाट कार्यक्रममा बोल्दै चौधरीले विवादास्पद अभिव्यक्ति दिएकी हुन् ।
उनले चुनावको समयमा आफूहरूलाई नकारात्मक दृष्टिकोणले हेर्ने र धाँधली गर्न खोज्नेलाई ‘गोली चलाउने र धारिलो छुरा रोप्ने’ सम्मको धम्की दिएकी हुन् ।
‘असुरक्षित प्रतिष्पर्धा गर्न खोज्नेलाई निष्पक्ष ढंगले जानुहोस् भन्ने हाम्रो खबरदारी गराउने काम हो,’ उनले भनिन्, ‘म स्वयम् उम्मेदवार हुँ, अन्तिम अवस्थामा यदि धाँधली भएमा पहिलो फायरिङ मैले नै गर्छु, छुरा रोप्नुप¥यो भने हाम्रा कार्यकर्ता हरेक बुथमा, हरेक लाइनमा, हरेक गाउँमा धारिलो छुरा जसरी निस्किने गरी ओराल्छौँ ।’
चौधरीले प्रतिपक्षीलाई दुष्परिणाम निकाल्न खोज्ने र षड्यन्त्र गर्न खोज्ने आरोप लगाइन् ।
‘जनताको मतलाई सुरक्षित रूपले गन्न नदिने काम गरियो भने त्यसको परिणाम अथवा जवाफ दिनको लागि हामी तयार छौँ,’ चौधरीले कांग्रेसबाट उम्मेदवार बनेका विजयकुमार गच्छदारप्रति इङ्गित गर्दै भनिन, ‘त्यसलाई भोलि, पर्सि हुनसक्छ भने गोली नै ठोक्नुप¥यो भने छुरै हान्नुप¥यो भने भगवती चौधरी त्यो पनि तयार छु ।’
उनले चुनावताका युवा संघ, युथ फोर्स, महिला संघ, किसान संघ लगायतका भातृ संगठनलाई तयार रहन समेत संकेत गरेकी थिइन् ।
आगामी मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनमा सुनसरी क्षेत्र नं. ३ मा नेकपा एमालेबाट उनै चौधरी र सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका विजयकुमार गच्छदारबीच प्रतिनिधिसभा सदस्यका लागि पुनः प्रतिष्पर्धा हुँदैछ ।
यसअघि दुईपटक उनै गच्छदारसँग पराजित भएकी चौधरीले यसअघि ०७४ को निर्वाचनमा पराजय भोगेपछि गच्छदारले धाँधली गरेको आरोप लगाएकी थिइन् ।
उनले उक्त अभिव्यक्ति दिएपछि निर्वाचन आचारसंहिता विरुद्व र अपराधिक गतिविधिलाई बढावा दिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
उनले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेर आवश्यक निर्णय लिने र थप कुरा बोल्ने प्रतिक्रिया दिए ।
(भिडियो सौजन्य मनोज भुजेल ।)














Discussion about this post