स–साना आयआर्जन गर्ने र बैंकिङ्ग पहुँचभन्दा टाढा रहेको गरीब वर्गका ब्यक्तिहरू, त्यसमा पनि महिलाहरूलाई सरल र सहज किसिमबाट वित्तीय सेवा पु¥याउने पवित्र उद्देश्यका साथ प्रदान गरिने सेवालाई लघुवित्तको परिभाषाभित्र समेट्न सकिन्छ ।
लघुवित्त सेवा न्यून आय भएका ब्यक्तिहरूलाई वित्तीय तथा गैह्र वित्तीय सेवाको माध्यमबाट निजहरूमा आयआर्जनका अवसरहरूको श्रृजना गर्दै गरिबीको दलदलबाट केही माथि उठाउने एक सशक्त तथा प्रभावकारी साधन पनि हो ।
नेपालको कुल जनसंख्याको १८ प्रतिशत जनसंख्या अझै पनि गरिबीको रेखामुनी रहेको र करिब २० प्रतिशत जनसंख्याको हिस्सा औपचारिक वित्तीय सेवाको पहुँचभन्दा बाहिर रहेको अवस्थामा लघुवित्त कार्यक्रमले सो पहुँचमा बृद्वि गर्न अहंम भूमिका खेल्न सक्ने देखिन्छ । लघुवित्तको सेवालाई सामाजिक ब्यवसायको रूपमा पहिचान बनाउन लघुवित्तहरू लगिपरेको समेत देखिन्छ ।
नेपालमा नेपाल राष्ट्र बैकबाट ईजाजत प्राप्त लघुवित्त वित्तीय संस्थाहरूका अलावा केही सहकारी संस्थाहरूले समेत ग्रामीण पद्धतिको माध्यमबाट लघुवित्त सेवा प्रदान गरिरहेको देखिन्छ । विगतमा लघुवित्त वित्तीय संस्थाहरू स–सानो ऋण मात्र लगानी गर्ने र सो ऋण समेत पाक्षिक रूपमा साँवा तथा ब्याज असुलउपर गर्ने गर्दर्थे ।
विगतमा लघुवित्त सेवा गैरसरकारी संस्थाहरूले नेपाल राष्ट्र बैंकबाट वित्तीय मध्यस्तताको ईजाजत प्राप्त गरी न्यूनतम मुनाफामा सेवाभावपूर्ण रूपले कार्यक्रम संचालन गरेको देखिन्थ्यो । उनीहरूको ठूलो खर्च कर्मचारी तथा आवद्व सदस्यहरूको क्षमता अभिवृद्वि गरी सदस्यहरूकोे उद्यमशिलता विकासमा हुने गर्दथ्यो ।
संस्थाले पनि मुनाफा वितरण गर्न नपर्ने हुँदा अधिक नाफा कमाउन दबाब नहुने हुँदा कार्यक्रमको सफलताका लागि आवश्यक क्षमता अभिवृिद्वमा खुलेर लगानी गर्दथे ।
हाल लघुवित्त वित्तीय संस्थाहरू कम्पनी ऐन अन्तरगत कम्पनीको रूपमा दर्ता भइ नेपाल राष्ट्र बैंकबाट ईजाजतप्राप्त गरी संचालन हुने र ती संस्थाका शेयर लगानीकर्ताहरूको ध्येय नाफा कमाउने तथा लाभांश अधिक लिने भएको देखिन्छ ।
सामाजिक ब्यवसायको रूपमा स्थापित हुने लघुवित्त संस्थाहरू नाफामा केन्द्रित हुन गएको देखिन्छ । फलस्वरुप लघुवित्त संस्थाहरुले आफ्ना संस्थामा कार्यरत कर्मचारी तथा सदस्यहरूको क्षमता अभिवृद्विका कार्यक्रमहरू कटौती गर्दै जाने तथा गर्नै परेको खण्डमा पनि नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बिनियोजित कोषबाट मात्र गर्ने गरेको देखिन्छ । तसर्थ लघुवित्त वित्तीय संस्थाहरूले आफ्नो मर्म तथा धर्मलाई नजरअन्दाज गर्दै छोटो समयमा अधिक नाफा लिन खोज्ने प्रवृितले गर्दा समस्याहरू देखा पर्ने क्रम बढ्दै गएका छन् ।
लघुवित्त क्षेत्रका सदस्यहरूमा अधिक ऋणभार, सामूहिक दायित्व स्वीकार नगर्ने, किस्ताको साँवा तथा ब्याज भुक्तान गर्न आनकान गर्ने, ऋणको दुरुपयोग गर्ने, नक्कली कागजपत्र तथा विवरणहरू पेश गरी ऋण लिने, कर्मचारीहरू माथि डर धम्की दिने, बिगत कोरोनाकालमा पाएको ब्याज छुट तथा पुनःतालिकीकरणको माग गर्ने, धेरै सदस्यहरूको ऋण एक दुई जना सदस्यले मात्र चलाउने लगायत ऋण रकम मिटरब्याजमा उपयोग गर्न लगाएका समस्याहरू देखिदैँ आएका छन् ।
नेपालमा संचालित लघुवित्त मोडललाई कोरोना कालमा निकै प्रभावित बनाएको र धेरै केन्द्र बैठकहरू संचालन हुन नसिकरहेको तथा सदस्यहरूको आयश्रोतमा समेत प्रतिकुल प्रभाव परोको अवस्था थियो । सदस्यहरूबीच भेटघाट, क्षमता अभिवृद्विका कार्यक्रम तथा अनुगमन जस्ता कार्यक्रमहरू प्रायः ठप्प रहेको थियो । तर, कोरोनाको प्रभाव केही शान्त हुनासाथ बजारमा सहज भएको तरलताका कारण लघुवित्त वित्तीय संस्थाहरूले सहज किसिमबाट लगानीमा बढावा दिँदै गर्दा विगतमा हुने गरेको ऋण लगानीपूर्व तथा पश्चातापका प्रक्रियाहरूको कार्यान्वयमा केही फितलो पन देखिन गयो ।
फलस्वरूप हाल बाध्यतावश लघुवित्तको मोडल, नीतिहरू पुनःकार्यान्वय गराउन लघुवित्त वित्तीय संस्थाहरूलाई हम्मे–हम्मे हुँदै जाँदा बजारमा देखिएको तरलता संकुचनका कारण पुनःआर्थिक क्रियाकलाप घट्दो दरमा रहेको देखिन्छ ।
जसको नतिजाले ऋणको गुणस्तर कमजोर हुँदै ठूलो रकम कर्जा जोखिम कोषमा राख्नुपर्ने स्थितिका साथै अधिकांश लघुवित्त वित्तीय संस्थाहरूको वासलात खुम्चिुनुका साथै नाफामा समेत संकुचन आउन सक्ने अनुमान गर्न सकिन्छ ।
तसर्थ, लघुवित्त वित्तीय संस्थाहरूले पुनः सदस्यहरूसँग सदस्य शिक्षा, वित्तीय शिक्षा, व्यवसायिक शिक्षा लगायतका शीर्षकहरूमा प्रभावकारी रूपमा तालिम तथा अन्तरक्रिया कार्यक्रमहरू संचालन गरी लघुवित्तको महत्व तथा अर्थका बारेमा सदस्यहरू तथा वभिन्न तह र तम्कामा रहेका पदाधिकारी र जनसंख्यालाई बुझाउनु पर्ने टट्कारो आवश्यकता रहेको छ ।
लघुवित्त संस्थाहरूले पनि कम्तिमा नियामन निकायले निधारण गरेको कर्मचारी क्षमता बृिद्वको बजेट खर्च गरी निजहरूको क्षमतामा बृद्वि गरी समस्यहरूसँग जुध्न सक्ने योग्य तथा क्षमतावान बनाउनुपर्ने देखिन्छ ।
लघुवित्त कर्मीहरूले लघुवित्तले समाजमा पारेको राम्रा कुराहरूको प्रचारप्रसार गर्नुका साथै देखा परेका समस्याहरूमा आत्मसाथ गर्दै सदस्यको ब्यवहार गरी लघुवित्तको पवित्र उद्देश्य तथा कार्यहरूमाथि कसैले पनि प्रश्न गर्ने ठाउँ राख्नु हुँदैन ।
(पौडेल आरएमडीसी लघुवित्त वित्तीय संस्थाका प्रबन्धक हुन् ।)
Discussion about this post