धरान : आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि सम्बोधन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धरान आएका छन् । शुक्रबार (आज) ओलीले एमाले र एमालेसँग सहकार्य गर्ने दललाई मात्र जनताले भोट दिने बताए ।
एमाले–जसपा संयुक्त कार्यकर्ता भेलालाई धरानमा आज सम्बोधन गर्दै उनले पार्टी निर्णयविरुद्ध उठेर स्वतन्त्र भएकालाई एमालेका मतदाताले भोट नदिने पनि बताए ।
एमाले–जसपा तालमेलबाट सुनसरी १ मा प्रतिनिधिसभाका उम्मेदवार बनेका अशोक राईलाई विजयी बनाएर पठाए धरानको समग्र विकास हुने उल्लेख गरे ।
उनले धरानको खानेपानीको दिगो व्यवस्थापनका लागि तीनवटा अवसर रहेको बताए । कोसी नदीमा पम्पिङ गर्ने, तमोरबाट लिफ्टिङ गर्ने र मेलम्ची जस्तो भूमिगत सुरुङ निर्माण गरी खानेपानीको दिगो व्यवस्थापन गर्ने ।
‘धरानको खानेपानी र विकास निर्माणका लागि राष्ट्रिय योजना, राष्ट्रिय बजेट चाहिन्छ, नेकपा एमालेको सरकार चाहिन्छ,’ उनले भने, ‘पम्पिङ गरेर कोसीबाट पानी ल्याएर एमालेले खुवाउँछ, तपाईंहरु ढुक्क हुनुहोस्, नगरको बजेटले सम्भावना छैन, मंसिर ४ पछि आयोजना सुरु गर्नेछौँ, काम सुरु गर्नेछौँ, स्थायी ढङ्गले, छेउमै कोसी बग्छ, धरान कसरी काकाकूल हुनसक्छ ?’
Discussion about this post