मोरङ : मोरङका राजनैतिक दलका नेता, पालिका प्रमुख र प्रशासकीय अधिकृतहरूले समाजमा लैङ्गिक समानता ल्याउने प्रतिबद्धता जनाएका छन् ।
दलित महिला केन्द्रले विराटनगरमा आयोजना गरेको लैङ्गिक समानताका लागि महिला जनप्रतिनिधिहरूको राजनैतिक सहभागीताबारे अन्र्तक्रिया कार्यक्रममा दलका नेता र जनप्रतिनिधिहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
एकीकृत समाजवादी प्रदेश १ का सदस्य कविराज घिमिरेले घरदेखि दलसम्म महिलाहरूलाई नेतृत्वमा अवसर दिन सकेमात्र समाजबाट लैङ्गिक असमानता हटेर समानता आउने भएकोले आँफू र आफनो पार्टी त्यसका लागि सजग र सचेत रहने प्रतिबद्धता गरे ।
माओबादी केन्द्र मोरङका संयोजक विजय विश्वासले जनयुद्ध र जनआन्दोलनपछि निर्माण भएको २०७२ को संबिधानले महिलालाई अधिकार दिएपनि पुरुषबादी चिन्तनमा परिवर्तन आउन नसक्दा समाजमा अझै लैङ्गिक समानता आउन नसकेको बताए ।
नेपाली कांग्रेस मोरङका सह–सचिव भुवनेश्वर राजवंशीले अवसर पाएमा महिलाहरुले सफल रुपमा नेतृत्व निर्वाह गर्नसक्ने बताए ।
उर्लाबारी नगरपालिका प्रमुख गंगा खरेलले लैङ्गिक समानता ल्याउन महिलाहरूले मात्र आवाज उठाएर नपुग्ने बताए । उनले पुरुषहरूले पनि अग्रसर भएर उनीहरूको हकअधिकारका लागि लडनुपर्नेमा जोड दिए ।
सुन्दरहरैँचा नगरपालिका प्रमुख केदारप्रसाद गुरागाईले पनि राजनैतिक दलहरूले चिन्तनमा परिवर्तन नगर्दा महिलाहरूको अवसर कुण्ठित भइरहेको बताए ।
उता, कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले महिलाहरुले नेतृत्वमा अर्थपुर्ण सहभागिता पाए मात्र समाजमा लैङ्गिक समानता आउने बताए । बजेट र नीति बनाउँदा महिला अधिकारबारे बिशेष ख्याल गरिरहेको र गरिरहने उनले बताए ।
बेलबारी नगरपालिका प्रमुख डीपी राईले महिलाहरूले सक्दिन भनेर हिनभावना राखेर हैन सधै ‘सक्छु’ भनेर अगाडि बढे नेतृत्वमा सधै सफलहुने विश्वास व्यक्त्त गरे ।
रंगेली नगरपालिका उपप्रम्ख झुमा पराजुलीले अझै पनि बजेट र नीतिहरू निर्माण गर्दा महिलाहरूलाई उपेक्षा गर्ने चलन कायमै रहेको बताइन् ।
केराबारी गाउँपालिका उपाध्यक्ष मनमाया मगरले अवसर पाए महिलाले नेतृत्व गर्न सक्नेसक्छन भन्ने उदाहरण आँफू नै भएको बताइन् ।
कटहरी गाउँपालिकाकी उपाध्यक्ष सीतादेवी राजवंशीले सामाजिक र साँस्कृतिक शुद्धिकरणको नीति अपनाएर महिलामैत्री बन्न सबै राजनैतिक दलहरूलाई आग्रह गरिन् ।
उनले महिला जनप्रतिनिधिहरूलाई हेर्ने धारणा अझै परिवर्तन नभएकोले त्यसबारे पनि दलहरूले सचेतना अभियान चलाउनुपर्नेमा जोड दिइन् ।
दलित महिला केन्द्रकी केन्द्रीय उपाध्यक्ष लक्ष्मी परियारले राजनीतिमा महिलाहरूको नेतृत्व सबल नभएसम्म समाजमा लैङ्गिक समानता आउन नसक्ने भएकोले जनप्रतिनिधि, दलका नेता र महिलाहरूका लागि निरन्तर क्षमता अभिबृद्धि र शसक्तीकरण कार्यक्रम सञ्चालन गरिरहेको सुनाइन् ।
लैङ्गिक समानता र निर्वाचित जनप्रतिनिधिहरूको राजनैतिक सहभागीता अभिबृद्धिबारे अन्र्तक्रियामा मोरंङका नौ वटा पालिकाहरूका प्रम्रुख, उपप्रम्ख र प्रशासकीय अधिकृतसहित राजनैतिक दलका जिल्ला नेताहरू सहभागी थिए ।












Discussion about this post