इटहरी (डेस्क) : सुनसरीको बराहक्षेत्र नगरपालिका ६ कालाबन्जराकी रूपा राईलाई झारफुकको नाममा मरणासन्न हुनेगरी कुटपिट गर्नुका साथै चरम यातना दिइएको छ ।
राईलाई ६ महिनाअघिदेखि खान मन नलाग्ने, निद्रा नलाग्ने, काप्ने, बर्बराउने, छटपटाउने समस्याले अस्वस्थ भइन् । धरान र विराटनगरका स्वास्थ्य संस्थामा जाँच गराउँदा कुनै रोग पत्ता लागेन ।
अस्पतालका चिकित्सकले घरमै उपचार गर्नु भनेपछि आँफूले धामीझाक्री लगाएको उनले बताइन् ।
‘अस्पतालका चिकित्सकले नै घरको देउता पितृ बुझाउनुस् भने,’ रूपाले भनिन्, ‘घरमा दिनहुँ पूजाआजा ग¥यौं, धामी बोलायौं, केही समयका लागि समस्या समाधान भए पनि निको भएन ।’
आफन्तहरूले स्वास्थ्य समस्याबारे जानकारी लिए । रूपाकी दिदीकी छोरी संगम राईलाई एक ‘माता’ ले सन्चो तुल्याएकोबारे कुरा भयो ।
माता दाबी गर्ने ती हुन्, अर्घाखाँची शीतगंगा नगरपालिका २ घर भई काठमाडौं तारकेश्वर नगरपालिका ८ जरंखु बस्ने १९ वर्षीया सचिना सारु मगर ।
अस्पतालले निको पार्न नसकेको रोग सन्चो बनाउने, देउता उतार्ने उनको ‘महिमा’ सुनेपछि फेसबुकमा भिडियो कुराकानी गरी रूपा सुनसरीबाट मंसिर २१ गते तारकेश्वर आइपुगिन् ।
‘भिडियोमा कुराकानी हुँदा रोग निको पार्छु भनेपछि छोराछोरी आफन्तलाई जिम्मा लगाएर झारफुककै लागि काठमाडौं आएँ,’ धामीको विश्वास गरेर काठमाडौँ पुगेकी रूपाले सुनाइन्, ‘सुरुका दुई दिन साँझबिहान झारफुक भयो, अर्को दिन मातालाई महिनावारी भएपछि सात दिन झारफुक नहुने भयो । त्यसपछि मलाई महिनावारी भयो ।’
पुस २ गते झारफुककै लागि रूपा माता भनिने सचिनाको कोठामा पुगिन् ।
‘जोखना हेर्दै मलाई सेतीदेवी, नागदेवी भन्दै अक्षता र अगरबत्तीले हान्न थालिन्, त्यतिबेलै अर्धचेतमा पुगिसकेकी थिएँ, त्यत्तिकैमा मैले भोलेबाबा भनेछु,’ रूपाले भनिन्, ‘भोलेबाबा हो भने मभन्दा शक्तिशाली हुनुहुँदो रैछ, म गुरु मान्छु भन्न थालिन् । म तपाईंलाई उपचार गर्न सक्दिनँ, इन्डियामा गुरु हुनुहुन्छ कुरा गर्छु भन्न थालिन् ।’
त्यसपछि भारतमा कुनै व्यक्तिसँग भिडियोमा कुरा गरेपछि आफ्नो मुखमा कपडाले बाँधेर बोल्न नदिई यातना दिएको रूपा सुनाउँछिन् ।
‘शरीरका विभिन्न अंगमा तातो तेलरपानी खन्याउने, तातो पन्युँले डाम्ने, त्रिशूलले घोचेर अचेत भएपछि छाडेछन्, भोलिपल्ट मात्र अस्पताल ल्याएका हौं,’ रूपाका श्रीमान् दिकमान राईले भने, ‘मोबाइल समेत कब्जामा लिएर परिवारसँग सम्पर्क गर्नसमेत दिइएन ।’
घटनाका बेला उनी पर्सामा थिए । श्रीमतीमाथि मरणासन्न हुने गरी यातना दिएको थाहा पाएर काठमाडौं आएको उनले बताए । उनका अनुसार चिकित्सकले रूपाको शरीरको १८ प्रतिशत भाग जलेको जनाएका छन् ।
झारफुकको बहानामा ‘माता’ बाट शारीरिक यातना पाएकी ३३ वर्षीया रूपा हाल नेपाल प्रहरी अस्पताल महाराजगन्जको सर्जिकल वार्डमा उपचाररत छिन् ।














Discussion about this post