इटहरी : प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा प्रदेश १ ले र सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेका छन् ।
इटहरीमा शुक्रबार (आज) देखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा प्रदेश १ ले मधेश प्रदेशमाथि ९ विकेटको फराकिलो जित दर्ता गरेको छ ।
मधेश प्रदेशले दिएको ५० रनको झिनो लक्ष्य प्रदेश १ ले ११ दशमलव ४ ओभरमा १ विकेट गुमाएर पूरा गरेको थियो । प्रदेश १ को जितमा काजल श्रेष्ठ र रुविना क्षेत्रीको ओपनिंग जोडीले जीतको बलियो आधार तयार पारेका थिए ।
काजलले ४२ बलमा ४ चौकाको मद्दतले २४ रन बनाउदा रुविनाले २७ बलमा २ चौकाको मद्दतले २१ रनको नटआउट पार्दै खेलिन् । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मधेश प्रदेशले १९ दशमलव २ ओभरमा सवै विकेट गुमाएर ४९ रन बनायो ।
मधेशलाई सस्तैमा समेट्न प्लेयर अफ द म्याच सबनम राईले ४ विकेट लिइन् ।
रुविना क्षेत्री र निशा शाहले दुई दुई विकेट लिदाँ ज्योती दनवार र एलिसा खडियाले एक एक विकेट लिइन् । मधेशका लागि सन्तोषी चौधरीले सर्वाधिक १२ रन बनाउँदा अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् भने ५ खेलाडीले डग आउट भए ।
आजै भएको दोस्रो खेलमा युवा अलराउन्डर कविता कुँवरको उत्कृष्ट ब्याटिङमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ३३ रनले हराएको छ । टस हारेर पहिला ब्याटिङ थालेको सुदूरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय २७ रन बनायो । सुदूरकी कविता कुँवरले ५२ बलमा ६ चौका र १ छक्का सहित सर्वाधिक ५० रनको अर्धशतकीय पारी खेलिन् ।
यस्तै, ऋतु कनोजिया २१ बलमा ४ चौका सहित २७ रनमा अविजित रहिन् । कप्तान विन्दु रावल र सम्झना खड्काले १०–१० रन बनाए ।
रुबी पोद्दार ८, शोभा रोकाया २ र कविता जोशीले ७ रन बनाए । बागमतीकी तीव्र गतिकी बलर अश्मिना कर्माचार्यले ४ ओभरमा ११ रन खर्चेर २ विकेट लिइन् । यशु पाण्डे, खुशी डंगेला र मनिषा उपाध्यले एक एक विकेट लिए ।
जितको लागि १ सय २८ रनको विजयी लक्ष्य पछ्याएको बागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै ९४ रन बनायो ।
बागमतीकी कन्चन श्रेष्ठले २१ बलमा १ चौका सहित सर्वाधिक १६ रन बनाइन् । ओपनर अस्मिता खरेल ३, सोनी पाख्रिन १५, हेलिसा गुरुङ ९, अश्मिना कर्माचार्य १३ र खुशी डंगोलले १४ रन बनाए । सुदूरका ऋतु कनोजियाले ४ ओभरमा १० रन खर्चेर २ विकेट लिइन ।
मनिषा उपाध्यले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिइन् ।













Discussion about this post