इटहरी : नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दा मधेश प्रदेशले पहिलो जित हात पारेको छ ।
इटहरीमा जारी प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने क्रममा एपीएफले आज बागमती प्रदेशमाथि ५३ रनको जित निकालेको हो । यो जितसंगै एपीएफ एक खेल अगावै सेमीफाइनल प्रवेश गरेको छ ।
एपीएफले दिएको १ सय ३७ रनको लक्ष्य पछ्याएको बागमती २० ओभरमा ९ विकेट गुमाएर ८३ रनमा समेटियो ।
बागमतीका लागि ओपनर हेलिशा गुरुङले सर्वाधिक २२ रन बनाउदा सोनी पाख्रिनले १३ रन बनाइन् । यस्तै, कन्चन श्रेष्ठले ११ तथा कप्तान अस्मिना कर्माचार्यले १० रन जोडिन । एपीएफका लागि निशा भट्टले ३ तथा कप्तान सिता रानामगरले ३ विकेट लिइन् ।
त्यसअघि इटहरीस्थित जनता क्रिकेट पार्कमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ३६ रन बनाएको थियो । पहिलो विकेटका लागि ज्योती पाण्डे तथा कप्तान सिताराना मगरले ५४ रनको साझेदारी गरेका थिए ।
प्लेयर अफ द म्याच समेत बनेकी कप्तान रानामगरले २९ बलमा ३६ रन बनाउदा पाण्डेले १५ रन बनाइन् ।
इन्दु बर्माले २७ बलमा ३८ रन बनाउदा नेरी थापा १९ रनमा अविजित रहिन् । बागमतीका लागि अस्मिना कर्माचार्य, मनिशा उपाध्याय, खुसी डंगोल र सोनी पाख्रिनले समान १/१ विकेट लिएकी थिइन् ।
दोस्रो खेलमा दोस्रो जित हात पारेको एपीएफ ४ अंकका साथ समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । यसअघि एपीएफले आफ्नो पहिलो खेलमा हिजो गण्डकी प्रदेशलाई पराजित गरेको थियो । दुई खेलमा लगातार हार ब्योहोरेको बागमती प्रदेश अंकविहिन रहदै समूह ‘ए’ को पुछारमा रहेको छ । सुदुरपश्चिम दोस्रो स्थानमा रहदा गण्डकी तेस्रो स्थानमा छ ।
आजै सम्पन्न दोस्रो खेलमा मधेश प्रदेशले पहिलो जित निकालेको छ । पहिलो जित निकाल्ने क्रममा मधेशले कर्णाली प्रदेशमाथि ८ विकेटको जित निकालेको हो । प्रतियोगितामा कर्णालीको यो लगातार दोस्रो हार हो । यसअघि पहिलो खेलमा हिजो शनिबार लुम्बीनी प्रदेशसंग कर्णालीले ९८ रनको हार ब्योहोरेको थियो ।
आज भएको दोस्रो खेलमा कर्णालीले दिएको ८० रनको लक्ष्य मधेशले १०.२ बलमा २ विकेट गुमाएर पूरा गर्यो । मधेशको जितमा ओपनर अनुराधा चौधरीले ३५ बलमा अविजित ३८ रन बनाइन । प्रतिमा शाहले अविजित १८ रन जोडिन् ।
पहिलो खेलमा लुम्बीनीलाई ४७ अतिरिक्त रन दिएको कर्णालीले आज मधेश प्रदेशलाई २२ रन अतिरिक्तमा दिएको थियो । कर्णालीका लागि बिना थापाले २ विकेट लिइन् ।
त्यसअघि इटहरी स्थित जनता क्रिकेट पार्कमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ६ विकेट गुमाएर ७९ रन बनाएको थियो । सुखद सुरुवात गरेको कर्णालीले २३ रनमा पहिलो विकेट गुमाएको थियो ।
त्यसपछि बाँकी ५ विकेट गुमाएर कर्णालीले ५६ रन मात्र जोड्न सक्दा लगातार दोस्रो हार ब्योहर्नु पर्यो । कर्णालीका लागि तिर्सना विश्वकर्माले १५ रन बनाइन् । अन्जु गुरुङले अविजित १३ रन बनाउदा किरन कुँवर १३ रनमा आउट भइन् ।
कर्णालीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन । मधेश प्रदेशका लागि भुमी सिंहले ४ तथा अमिरान निशाले २ विकेट लिए ।
दोस्रो खेलमा पहिलो जित हात पारेको मधेश २ अंकका साथ समूह ‘बी’ को तेस्रो स्थानमा रहेको छ ।
उक्त समुहमा लुम्बीनी शिर्ष स्थानमा रहदा प्रदेश एक दोस्रो स्थानमा छ । कर्णाली प्रदेश दुई खेल खेल्दै अंकविहिन रहदै पुछारमा रहेको छ ।
प्रतियोगिता अन्तर्गत भोली सोमबार हुने पहिलो खेलमा प्रदेश नं. १ र लुम्बिनीबीच प्रतिष्पर्धा हुँदा दोस्रो खेलमा गण्डकी र सुदुरपश्चिम प्रदेशबीच प्रतिष्पर्धा हुनेछ ।












Discussion about this post