इटहरी : प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटमा प्रदेश १ र सुदूरपश्चिम प्रदेशले लगातार दोस्रो जीत निकालेका छन् ।
पहिलो खेलमा मधेश प्रदेशलाई पराजित गरेको प्रदेश १ ले आज दोस्रो जीत निकाल्ने क्रममा लुम्बिनी प्रदेशमाथि ९ रनको संघर्षपूर्ण जीत हात पारेको हो ।
इटहरीस्थित जनता क्रिकेट पार्कमा आज भएको खेल बाक्लो हुस्सुका कारण ९ ओभरका झारिएको थियो ।
टस जितेर पहिला ब्याटिङ गरेको प्रदेश एकले ९ ओभरमा ४ विकेट गुमाउदै ५९ रन बनाएको थियो । प्रदेश १ का लागि ओपनरद्वय काजल श्रेष्ठ र कप्तान रुबिना क्षेत्रीले पहिलो विकेटका लागि ३८ रनको साझेदारी गरेका थिए ।
पाचौँ ओभरको पाचौँ बलमा पहिलो विकेटका रूपमा कप्तान रुबिना क्षेत्री १३ बलमा ४ चौका प्रहार गर्दै १७ रन बनाउदै आउट भइन् । छैटौं ओभरको अन्तिम बल काजलले २१ रन बनाउदै आउट भइन् ।
तेस्रो विकेटका रूपमा लकिता रावंशीलाई सातौं ओभरको अन्तिम बलमा २ रन बनाएर आउट भइन् । चौथो विकेटको रूपमा अप्सरी बेगम १२ रन बनाउदै आउट हुदा सबनम राई १ रनमा र स्मृति कटुवाल ४ रनमा अविजित रहिन् ।
लुम्बिनीका लागि कृतिका मरासीनी, सरस्वती पुन र विभाषा बिसीले एक–एक विकेट लिए ।
६० रनको लक्ष्य पछ्याएको लुम्बिनीले ९ ओभरमा ७ विकेट गुमाउदै ५० रन मात्र बनाउन सफल रह्यो । लक्ष्मी चौधरीले ३१ रन बनउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।
आजै सम्पन्न दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले पनि लगातार दोस्रो जित निकालेको छ । इटहरीको जनता क्रिकेट पार्कमा सोमबार सम्पन्न दोस्रो खेलमा गण्डकी प्रदेशलाई नौ विकेटले पराजित गरेको छ ।
गण्डकीले प्रस्तुत गरेको ६१ रनको लक्ष्य सुदूरपश्चिमले ११ ओभरमा एक विकेट गुमाउदै भेट्टायो । सुदूरपश्चिमका लागि कप्तान विन्दु रावलले ४३ बलमा आठ चौका मद्दतमा अविजित ४६ रन बनाइन् ।
यसैगरी सोभा रोकाय आठ रनका अविजित खेलिन । गण्डकीका लागि एक मात्र विकेट निरुता जिटीले लिइन् । यसअघि टस जितेर ब्याटिङ रोजेको गण्डकीले निर्धारित २० ओभरमा नौ विकेट गु्माउदै ६० रनको योगफल तयार पारेको थियो ।
गण्डकीका लागि सिमान केसीले १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
प्रतियोगिता अन्र्तगत मंगलबार पहिलो खेलमा कर्णाली र प्रदेश १ बीच प्रतिष्पर्धा हुँदा दोस्रो खेलमा सुदूरपश्चिम र नेपाल एपीएफबीच खेल हुने आयोजकले जनाएको छ ।













Discussion about this post