इटहरी : चारकोसे जंगलमा नवजात शिशुलाई फाल्ले बाबुलाई प्रहरीले पक्राउ गरेको छ ।
तीन दिनकी नवाजात शिशु (छोरी) फाल्ने बाबुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको दुहबी नगरपालिका १० का ३३ वर्षीय अमितलाल चौधरी रहेका छन् । उनले बराहक्षेत्र नगरपालिका २ को चारकोसे जंगलमा तीन दिनअघि शिशुलाई फालेका थिए।
जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी प्रभुप्रसाद ढकालका अनुसार पक्राउ परेका चौधरीलाई ज्यान मार्ने कसुरको मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।
(आज) सोमबार जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी घटनाको अनुसन्धान थालिएको उनले बताए । अमितसँगै पक्राउ परेकी उनकी श्रीमती बिन्दु चौधरीलाई भने प्रहरीले रिहा गरिदिएको छ । उनले नवजात शिशु जंगलमा फालेको घटनामा बिन्दुको संलग्नता नदेखिएकाले उनलाई रिहा गरिएको प्रहरीले जनाएको छ ।
माघ ४ गते जन्मिएकी शिशुलाई चौधरीले ६ गते बराहक्षेत्र नगरपालिका २ को चारकोसे जंगलमा लगेर फालिएको थियो । जंगलमा घाँस दाउराका लागि गएका स्थानीयले नवजात शिशुलाइ देखेपछि जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए ।
बराहक्षेत्र नगरपालिकाका जनप्रतिनिधि र इलाका प्रहरी कार्यालय चतराको टोलीले तत्काल नवजात शिशुको उद्धार गरी उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेका थिए ।
Discussion about this post