इटहरी : उद्योग वाणिज्य संघ इटहरीको यही माघ २८ गते हुने निर्वाचनमा नेपाली कांग्रेसभित्र विवाद बढेको छ ।
दुई दिनको फरका दुई भिन्नाभिन्नै विज्ञप्तिले कांग्रेसभित्र विवाद चुलिएको हो । दुई छुट्टाछुट्टै विज्ञप्तिले व्यवसायीहरू अलमलमा परेका छन् ।
नेपाली कांग्रेस इटहरी नगर समितिले निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने दिनसम्म उम्मेदवारी टुंगो लगाउन नसेकेपछि शुुक्रबार साँझ मात्रै विज्ञप्ति प्रकाशन भएको थियो ।
शुक्रबार साझ नगर सभापति हेमकर्ण पौडेलद्वारा जारी विज्ञप्ति अनुसार लोकतान्त्रिक प्यानलबाट गायत्री कटवाल (भण्डारी) लाई कांग्रेसले आधिकारिक उम्मेदवार घोषणा गरेको जनाइएको छ । तर, पार्टीभित्र छलफल नगरी अनाधिकृत हिसाबममा सामाजिक सञ्जालमा घोषणा गरिएपछि विवाद बढेको हो ।
निर्वाचनका लागि बिहीबार मनोनयन दर्ता भएको छ । कांग्रेस निकटका व्यापारीहरू जीवन पराजुली, गायत्री कटवाल (भण्डारी) र पीताम्बर पोखरेलले अध्यक्षमा उम्मेदवारी दिएका छन् । पार्टीले यसअघि आधिकारिक उम्मेदवार टुंगो लगाउन नसकेपछि विवाद चुलिदैँ गएको हो ।

कांग्रेस नगर सभापतिको निर्णयप्रति नगर कमिटिकै पदाधिकारीहरूले असन्तुष्टि जनाउँदै अर्को विज्ञप्ति जारी गरेका छन् ।
महाधिवेशन प्रतिनिधि विकास केसी, नगर उपसभापति बालकृष्ण विष्ट, सचिव मन्दीप भट्टराई, सह–सचिव मेनुका गिरीले विज्ञप्ति जारी गर्दै पार्टी सभापतिले कांग्रेसको आधिकारिक उम्मेदवार भनी सामाजिक सञ्जालमा प्रचार गरेकाले आपत्ति जनाएका छन् ।
‘इटहरी उद्योग वाणिज्य संघको सन्र्दभमा इटहरी उपमहानगर समितिमा कुनै छलफल नभएको हामी नगर समितिका पदाभिकारीहरू प्रष्ट पार्न चाहन्छौं । गैर राजनैतिक संगठनमा मतदाता उद्योगी व्यावसायीहरूलाई आफ्नो विवेक र इमानको प्रयोग गर्दै आँफूले रुचाएको उम्मेदवारको पक्षमा आफ्नो मतदान अधिकार प्रयोग गर्न हार्दिक आह्रवान गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस इटहरी उपमहानगरसमितिको तर्फबाट सभापति हेमकर्ण पौडेलले आधिकारिक उम्मेदवार भनी प्रस्तुत गर्नुभएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

उता, नेकपा एमालेले भने रञ्जु सिग्देललाई उम्मेदवार बनाएको छ । यस्तै, स्वतन्त्र रूपमा मणिन्द्रकुमार कटवालले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन् ।
यो पनि – उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा पाँचजनाको उम्मेदवारी, कुन पदमा कति जनाले गरे मनोनयन ?














Discussion about this post