इटहरी : उद्योग वाणिज्य संघ इटहरीको यही २८ गते हुने निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार पीताम्बर पोखरलले जीवन पराजुलीको समूहलाई समर्थन गर्ने भएका छन् ।
मंगलबार इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा आयोजित चुनावी घोषणा सभामा बोल्दै अध्यक्ष पदका उम्मेदवार पोखरेलले पराजुलीको समूहलाई समर्थन गर्ने बताएका हुन् ।
‘मेरो यस संस्थामा उम्मेदवारी यस कारणले छ कि, उद्योग वाणिज्य संघमा अहिलेसम्म कुनै पनि ठाउँमा पार्टीको तर्फबाट लेटरप्याडमा लेखेर अध्यक्षको उम्मेदवार घोषणा भएको थाहा थिएन,’ पोखरेलले भने, ‘राजनीतिकरण गर्न खोजियो, त्यसको विरुद्वमा मेरो उम्मेदवारी हो ।’
उनले व्यवसायिक संस्थामा कुनै पनि राजनीतिकरण हुन नहुने र सबै जाती, धर्म र वर्गका व्यवसायी समेटिनुपर्ने तर्क गरे ।
पराजुलीको टिम आँफूले सोचेजस्तो भएको र उम्मेदवारी फिर्ता लिनुपर्ने समयमा ढिलाई भएकाले अहिले आफ्नो समर्थन पराजुलीलाई रहेको उनले बताए ।
‘मेरो यो टिमप्रति पूर्ण समर्थन रहेको र उपस्थित व्यवसायीहरूलाई म अध्यक्षको उम्मेदवार रहेपनि मेरो पनि भोट यो टिमलाई जाने जानकारी गराउँदछु,’ उनले भने, ‘यो टिममा सबै पार्टी, सबै जाती र सबै वर्गको उपस्थिति रहेकाले यो टिमलाई समर्थन रहेको जानकारी गराउँदछु ।’
निर्वाचनका लागि पाँचजनाको उम्मेदवारी परेको छ । जसमध्ये पोखरेलले पराजुलीलाई समर्थन गर्ने बताएसँगै चारजनाबीच तीव्र प्रतिष्पर्धा हुने बताइन्छ ।
भिडियोका लागि यहाँ क्लिक गर्नुहोस् ।
https://www.facebook.com/takuranews/videos/737424171037948














Discussion about this post