इटहरी : भर्खरै सरुवा भएर इलाका प्रहरी कार्यालय इटहरीका आएका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले इटहरीलाई अपराधमुक्त सहर बनाउनेमा आफ्नो भूमिका रहने बताएका छन् ।
शुक्रबार इटहरीमा पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा उनले इटहरी विकासको गतिमा फड्को मारिरहेको सहर भएपनि यहाँ हुने अपराध न्यूनीकरणका लागि आफ्नो भूमिका अब्बल हुने बताएका हुन् ।
‘पूर्वको हबको रुपमा इटहरीलाई चिनिन्छ, विकासका गति बढ्दै गएका छन्,’ डीएसपी काफ्लेले भने, ‘जहाँ विकास बढ्छ, त्यहाँ जनघनत्वसँगै अपराध पनि बढ्दै जान्छ ।’
इटहरीमा खासगरी लागूऔषध प्रयोग, चोरी तथा अन्य सामाजिक अपराध हुने भएकाले त्यसमा आँफूले निगरानी बढाउने काफ्लेले बताए ।
‘लागूऔषध आँफैमा एउटा अपराध हो र यसले अर्को अपराध बढाउँछ,’ उनले भने, ‘पूरै नियन्त्रण नहोला तर न्यूनीकरणका लागि हाम्रो पहल हुन्छ ।’
लागूऔषध प्रयोग, कारोबार, चोरी नियन्त्रण तथा समाजमा हुने गुण्डागर्दी नियन्त्रणका लागि पनि आँफ्नो भूमिका अब्बल हुने उनको दाबी छ ।
इटहरीमा मोटरसाइकल चोरीका घटना पनि बढेकाले चोरी नियन्त्रणका लागि प्रहरी २४ घण्टै सुरक्षामा खटिने उनको भनाइ छ ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम समाजसम्म पु¥याउने र सचेतना फैलाउने उनले बताए । विगतमा अदालती प्रक्रियाबाट फैसला भएका मुद्दाहरूमा फरार रहेकालाई पनि खोजी कार्य गरिने उनको भनाइ छ ।
‘अदालतबाट फैसला भएका तर फरार भएका प्रतिवादीलाई नियन्त्रणमा लिनका लागि पनि हामी सक्रिय हुन्छौँ,’ उनले भने, ‘अपराधरहित समाज निर्माणका लागि सबै सरोकारवाला पक्षसँग छलफल गरी प्रहरी युनिट सक्रिय रहन्छ ।’














Discussion about this post