इटहरी : बढी शुल्क लिन पाउनुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरी अगाडि रहेका पसलेहरू आन्दोलित बनेका छन् ।
कार्यालयबाहिर सञ्चालित लेखापढी पसलेहरूले प्रशासनमा आएका सेवाग्राहीबाट चर्को शुल्क लिएको भन्दै कडाई गरेपछि आज (मंगलबार) व्यवसायीहरूले पसल बन्द गरेर आन्दोलन गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले सेवाग्राहीसँग मनोमानी शुल्क लिएको भन्दै कठोर बनेपछि पसलेहरू आन्दोलित बनेका हुन् ।
सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार पसलमा एउटा फर्म भरेकै पाँच सय र सोभन्दा बढी रकम लिएको पाइएपछि प्रशासनले निगरानी बढाएको थियो ।
कडाइ गर्न थालिएपछि मंगलबार पसल बन्द गरेपनि प्रशासनभित्र भएका कामकारबाहीको प्रक्रिया नरोकिएको उनले बताइन् ।
‘पैसा बढी लिन पाउनुपर्छ भन्ने कुरा किमार्थ स्वीकार्य छैन, हामीले भित्रबाट सबै काम गरेका छौँ,’ प्रजिअ पाण्डेले भनिन्, ‘गलत काम गर्ने मानिस कारबाहीको दायरामा आउनुपर्छ, हामीले तत्काल चेतावनी मात्रै दिएका छौँ ।’
उनका अनुसार फोटोकपी तथा अन्य विभिन्न लेखापढीका काम गर्ने पसलेले पसल बन्द गरेपनि प्रशासनभित्रैबाट फोटोकपी लगायतका काम भइरहेको उनले बताइन् ।

‘उनीहरूले फोटोकपी नगरेपछि कसरी काम गर्छ भनेर भनिरहेका रहेछन्, हामीले सेवाग्राहीका काम नरोकिनेगरी काम गरिरहेका छौँ,’ उनले टाकुरासँग भनिन् ।
निःशुल्क पाइने फारमलाई सर्वसाधारणले महंगो शुल्क तिर्नुपरेको गुनासो आएपछि यसअघि प्रशासनले निगरानी थालेको थियो ।
निःशुल्क उपलब्ध हुने सबै किसिमका सुविधा सेवाग्राहीले हेल्प डेस्कमार्फत् पाउने उनले बताइन् ।














Discussion about this post