इटहरी : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाल विद्यार्थी संघका निवर्तमान सभापति राजीव ढुंगानाले नेविसंघले पार्टीको झण्डा मात्रै नभइ विद्यार्थीका मुद्वा बोक्नुपर्ने बताएका छन् ।
आज (बुधबार) नेविसंघ सुनसरीले इटहरीमा आयोजना गरेको ‘विद्यार्थी आन्दोलन–स्ववियु निर्वाचन र नेविसंघको भूमिका सम्बन्धि अन्तरक्रिया’ कार्यक्रममा बोल्दै ढुंगानाले नेविसंघले पहिलो प्राथमिकता नै विद्यार्थीका मुद्वा बोक्नुपर्ने बताएका हुन् ।
‘नेविसंघ कांग्रेसको भातृसंस्था मात्रै होइन, यसले विद्यार्थीहरूको मुद्वा बोक्नुपर्छ,’ उनले भने, ‘नेविसंघको पहिलो प्राथमिकता पार्टी होइन, विद्यार्थीका मुद्वा हुनुपर्छ ।’
आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनलाई लक्षित गर्दै उनले नेविसंघले मात्रै विद्यार्थीका मुद्वा बोक्ने उदृत गरे ।
‘विद्यार्थीको हितमा काम गर्ने नेविसंघ मात्रै हो, यसलाई कतै चुक्न दिनुहुन्न,’ ढुंगानाले भने, ‘अहिले शिक्षा भनेको व्यापार गर्ने आधार बनिरहेको छ, यसलाई नेविसंघले चिर्नुपर्छ ।’
विश्वविद्यालयमा राजनीतिक भागबण्डाका आधारमा उपकुलपति नियुक्त हुने गरेको स्मरण गर्दै उनले योग्यता र क्षमताका आधारमा नियुक्त गर्नका लागि नेविसंघले आवाज उठाउनुपर्ने तर्क गरे । नेविसंघमा आवद्व विद्यार्थीहरूले पार्टीभित्रको गुटबन्दीमा रमाउने काम नगर्न उनको अपिल थियो ।
‘शिक्षा लिएपछि रोजगार हुनुपर्ने अवस्था ल्याउनका निम्ति अब हामीले मुद्वा बनाउनका आवश्यक छ,’ उनले भने, ‘जीवन उपयोगी शिक्षाको आवश्यक छ, शैक्षिक बेरोजगार हुने शिक्षा भन्दापनि रोजगार र सीपमूलक शिक्षा आजको आवश्यकता हो ।’
कार्यक्रममा जिल्ला समन्वय समिति सुनसरीका संयोजक तथा जिससका राष्ट्रिय अध्यक्ष राजन मेहताले अहिलेका विद्यार्थीहरू भोलिको नेतृत्व भएको बताए । उनले स्ववियु निर्वाचनमा विद्यार्थीका भावना र मर्मको कदर गर्दै सकारात्मक काम गर्ने नेविसंघलाई स्ववियु निर्वाचनमा जिताउन आग्रह गरे ।
कार्यक्रममा नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. २ (क) का सभापति सुबेक्छु देवानले अहिलेका विद्यार्थीहरूले कुनै व्यवस्था परिवर्तन गर्न नपर्ने र विचारको आन्दोलनमा अग्रसर हुनुपर्नेमा जोड दिए । स्ववियु निर्वाचनमा सुनसरीका सातवटै क्याम्पसमा नेविसंघले जित्नका लागि सचेत हुनुपर्ने उनले बताए ।
कार्यक्रममा नेविसंघ सुनसरीका पूर्व सभापति शेखर लुइँटेल, मन्दीप भट्टराई, कांग्रेस इटहरी नगर सचिव विक्रम घिमिरे, महेन्द्र बहुमुखी क्याम्पस धरानका इकाई सभापति विवेक लिम्बू लगायतले बोलेका थिए । उनीहरूले विद्यार्थी आन्दोलनको औचित्य गराउन नेविसंघलाई जिताउनुपर्ने बताएका थिए ।
‘नेविसंघमा गुट, उपगुट समाप्त भयो, अब विद्यार्थीहरूले आन्दोलन र चक्काजाम गर्न पर्दैन,’ कांग्रेस इटहरीका सचिव घिमिरेले भने ।
यही चैत ५ गते स्ववियु निर्वाचनमा सुनसरीका १० मध्ये ७ वटा क्याम्पसमा निर्वाचन हुँदैछ । जसमध्ये धरानको पिण्डेश्वर विद्यापीठ क्याम्पसमा भने विवाद भएका कारण केही समय निर्वाचन सर्न सक्ने संकेत देखिएको छ ।
नेविसंघ सुनसरीका सभापति प्रमोद भट्टराईको सभाध्यक्षमा भएको कार्यक्रममा सुनसरीका विभिन्न ठाउँबाट विद्यार्थीहरूको सहभागिता थियो ।
Discussion about this post