धरान : धरान १४ विजयपुरमा रहेको केन्द्रीय प्रविधि क्याम्पस (हात्तीसार) ले आफ्नो स्थापनाको ५० वर्ष पुगेको अवसर पारेर स्वर्ण जयन्ती मनाएको छ
बुधबार कलेजले स्वर्ण जयन्तीको अवसरमा प्रभातफेरी (पदयात्रा) कार्यक्रम आयोजना गरेर औपचारिक कार्यक्रम गरेको थियो ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रजिष्टार प्रा. डा. पेशल दाहाल प्रमुख अतिथि थिए ।
क्याम्पस प्रमुख दिलकुमार लिम्बूले आफ्न पीता हिम लिम्बू र माता टीका लिम्बूको स्मृतिमा ३२ लाख बराबरको लागतमा निर्माण गरिएको हिम–टीका क्लक टावर घण्टाघरको अनावरण समेत गरिएको छ ।
यस्तै, ६५ जना विद्यार्थी क्षमता भएको तीन करोड १७ लाखमा निर्मित पुरुष छात्रबासको पनि उद्घाटन गरिएको छ ।
स्वर्ण महोत्सवमा स्मारिका समेत लोकार्पण गरिएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि दाहालले केन्द्रीय प्रविधि क्याम्पसले प्रविधिमा धेरै जनशक्ति तयार गरेको बताए । यो क्याम्पस स्वायत्तता आंगिक क्याम्पसको रूपमा रहेको बताउँदै त्रिविले हरेक किसिमले सहयोग गर्ने प्रतिबद्धता जर्नाए ।
स्वर्ण जयन्तीको अवसरमा खेलकुद प्रतियोगिताका सहभागीलाई पुरस्कार समेत वितरण गरिएको छ ।
वि.सं. २०३० सालमा व्यावहारिक विज्ञान तथा प्रविधि अध्यन संस्थान नामले स्थापित क्याम्पसको नाम पछि केन्द्रीय प्रविधि क्याम्पस राखिएको थियो ।
क्याम्पसले हाल त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका खाद्य प्रविधि, सुक्ष्म जीव विज्ञान, पोषण तथा आहार विज्ञान, भौतिक शास्त्र, प्राणी शास्त्र, वनस्पति शास्त्र, तथ्यांक शास्त्र, रसायन शास्त्र र भूगर्भ शास्त्र, सूचना प्रविधि, कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि जस्ता विषयमा स्नातक तथा सुक्ष्म जीव विज्ञानमा भने स्नातकोत्तर तहसम्मको शैक्षिक कार्यक्रम सञ्चालित रहेको र सहज शुल्कमा गुणस्तरीय शिक्षा, समय अनुकूल स्वास्थ्य, पोषण, आहार तथा अन्य सञ्चालित कार्यक्रमहरुमा अनुसन्धान गर्दै दक्ष जनशक्ति उत्पादन गरी समृद्द प्रदेश तथा राष्ट्र निर्माणमा योगदान गर्दै आएको सहायक क्याम्पस प्रमुख बबिता अधिकारीले बताइन् ।
क्याम्पसमा जम्मा २० वटा प्रयोगशाला छन् । जसमा प्रत्येक कार्यक्रमका छुट्टाछुट्टै र विषयगत समेत छुट्टाछुट्टै प्रयोगशाला छन् ।











Discussion about this post