विराटनगर : विराटनगरमा प्रहरीले अवैध ५४ तोला सुन, ७ लाख ९० हजार भारतीय रुपैयाँसहित तीनजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भ्यान चालक विराटनगर २ का ५२ वर्षीय विमल कामत, भारत बिहार कटिहारका ६१ वर्षीय विनोद कुमार मुरारका र उनकी श्रीमती ५६ वर्षीया पुष्पा मुरारका रहेका छन् ।
विराटनगर महानगरपालिका १५ बाट को २ च १४९५ नम्बरको भ्यानमा सामान बरामद गरेको छ ।
कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार ठूलो बिस्कुट ३ थान (३० तोला), सानो बिस्कुट ६ थान (६ तोला), पाँच ग्रामको बिस्कुट २ थान (१० ग्राम), सुनका सिक्काहरू (३६ ग्राम), चार ग्रामको सिक्का १० थान (४० ग्राम), १० ग्रामको सिक्का १ थान, आठ ग्रामको सिक्का ६ थान (४८ ग्राम), १० ग्रामको सिक्का २ थान (२० ग्राम), कनौती २ थान (५.७८ ग्राम) र ह्यालिङ २ थान (६.५० ग्राम) गरेर ५४ तोला सुन रहेको छ ।
यस्तै, चाँदी जस्तो देखिने सेतो धातुबाट बनेको सामग्रीहरूमा ढिक्का ११ थान (१७१९.४४ ग्राम), बुनिया (९२.८० ग्राम), सिक्का ६८ थान (३६८.३२ ग्राम), चार मुखे कचौरा (दियो) १ थान (५०.१४ ग्राम), सिन्धुर राख्ने सिसी १ थान (५.४८ ग्राम), थाल ६ थान (२४१४.०८ ग्राम), कचौरा ६ थान (३९७.८४ ग्राम), चम्चा ६ थान (३०३.४९ ग्राम), गिलास ६ थान (३६८.८३ ग्राम), मड्की १ थान (३७.८८ ग्राम) र डिनरसेट ढोंगा ४ थान रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शुक्रबार दिउँसो साढे ३ बजे कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट परिचालन भएको प्रहरी वरिष्ठ नायव निरीक्षक फिरोज चौधरीसहितको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
बरामद गरिएका गरगहना, नगद र इको भ्यान समेत गरी करिब ९० लाख मूल्य बराबरको सामाग्रीहरू आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय रानीमार्फत जिल्ला प्रहरी कार्यालय मोरङमा पठाइएको छ भने अन्य थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post