विराटनगर : कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समृद्विको आधार निर्माण गर्न राष्ट्रिय पुँजीको निर्माण र खर्च गर्ने क्षमता बढाउनुपर्ने बताएका छन् ।
प्रदेश योजना आयोगले शुक्रबार विराटनगरमा आयोजना गरेको ‘कोसी प्रदेश समृद्विका नवीन आधार’ सम्बन्धी कार्यशाला गोष्ठिमा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।
उनले कोसी प्रदेशको प्रथम आवधिक योजना सकिन लागेको र दोस्रो आवधिक योजना निर्माणको समय आइसकेकाले प्रदेश समृद्विका आधारहरू तय आवश्यक भएको बताए । प्रदेशले बनाउने योजनाहरू प्रदेशकै तथ्याङ्कमा आधारित हुनुपर्ने भएकाले प्रदेशको वास्ताविक तथ्याङ्क सङ्कलन गर्ने कुरामा हाम्रो ध्यान पुग्नुपर्ने कार्कीले बताए ।
‘प्रदेशमा बजेट निर्माण र बजेट निर्माणपछि प्रथामिकताहरू तय गर्ने सन्दर्भमा हामी पहिलेनै चुकेका छौ, त्यसको कारणले अझै केही वर्ष केही क्षेत्रहरूमा असन्तुलन हुने अवस्था रहन्छ,’ मुख्यमन्त्री कार्कीले भने ।
प्रदेशको संरचनागत कुरामा ध्यान दिदाँ अन्य क्षेत्रका कामहरू छुटेको प्रष्ट पार्दै यस पटकको बजेट निर्माणसँगै केही सुधार गर्ने प्रयास गरिएको उनले बताए ।
कार्यक्रममा कोसी प्रदेश सभाका सभामुख बाबुराम गौतमले पर्यटन क्षेत्रको प्रचुर संभावना रहेको कोसी प्रदेशलाई पर्यटनको एक नं गन्तव्य बनाउन सकिने बताए ।
खानेपानी, सिचाईँ तथा उर्जा मन्त्री तिलकुमार मेन्यङवोले वर्तमान संविधानले समाजबादको गन्तव्य तय गरेकाले प्रदेश समृद्विका आधारहरू पनि सोही अनुरुप निर्माण गरिनुपर्ने बताए ।
उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले प्रदेशभित्रको प्राकृतिक स्रोत साधनको रूपमा रहेको जल र जङ्गलको भरपुर प्रयोग गर्न सकेमात्र समृद्व प्रदेश निर्माण गर्न सकिने बताए ।
प्रदेश योजना आयोगका उपाध्यक्ष डिल्लीराम उप्रेतीको सभापतित्वमा भएको उक्त कार्यक्रममा कोसी प्रदेशका सामाजिक विकास मन्त्री बुद्विकुमार राजभण्डारी, उपसभामुख सिर्जना दनुवार, प्रदेशसभा सदस्य गणेश उप्रेती लगायतले प्रदेश समृद्वका आधारहरूबारे बोलेका थिए ।
कार्यक्रममा अर्थशास्त्री प्रा. डा. शिव अधिकारीले कार्यपत्र प्रस्तुत गरेका थिए ।












Discussion about this post