इटहरी : इटहरी–धरान सडकखण्डस्थित कोसी राजमार्गमा पर्ने चारकोसे जंगलको सेउती पुलमा गोली हानेर युवकको हत्या भएको सातादिन बितेपनि अझै दोषी पत्ता लागेको छैनन् ।
जन्मदिनको दिन साथीसँग घुम्न गएका विराटनगर ५ का २८ वर्षीय रोहित चौधरीको साउन ५ गते चारकोसे क्षेत्रमा साँझ साढे ५ बजेतिर गोली हानेर हत्या भएको थियो ।
हत्या भएको एक साता बितेपनि जिल्ला प्रहरी कार्यालय सुनसरी भने अनुसन्धानमा मात्रै सीमित बनेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) प्रभुप्रसाद ढकालले प्रहरी अनुसन्धानमै रहेकाले घटनामा संलग्नलाई पक्राउको नजिक पुगेको बताए । ‘हामीले अनुसन्धानको पाटो फराकिलो बनाएर अनुसन्धान गरिरहेका छौँ,’ ढकालले टाकुरासँग भने, ‘विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौँ, चाँडै नै प्रमाणसहित पक्राउ गरेर सार्वजनिक गर्नेछौँ ।’
उनले यसअघि लुटेरामा संलग्नहरूलाई पनि गहिरो रूपमा नियालेर अनुसन्धान गरिरहेको बताए । योजना नै बनाएर अपराध गर्ने व्यक्तिबारे पनि अनुसन्धान भइरहेको एसपी ढकालले बताए ।
‘हामीले सुक्ष्म रूपमा प्राविधिक अनुसन्धान पनि गरिरहेका छौँ । अवैध सम्बन्धका कारण पनि हत्या हुनसक्ने कुरालाई मध्यनजर गर्दै अनुसन्धान गरिरहेका छौँ,’ उनले भने, ‘शङ्कित मान्छेहरूलाई पनि नियालिरहेका छौँ, यो घटनामा हामीले सुक्ष्म अनुसन्धान गरिरहेका छौँ ।’
उनले चाँडै दोषी पत्ता लाग्ने दाबी गरे ।
जन्मदिनको दिन करिब साढे ११ बजे प्रेमिकासँग घुम्न निस्किएका रोहित फर्किएपछि जन्मदिन मनाउने भनेर परिवारका सदस्यले तयारी सुरु गरेका थिए । धनकुटाको मुलघाट पुगेर फर्कदै गर्दा सेउती खोला पुलको दक्षिणपट्टी उनको गोली हानी हत्या भएको हो ।
प्रहरीका अनुसार तीनजनाको समूहमा आएका युवाहरूमध्ये एकजनाले गोली प्रहार गरेको र उनीहरू तत्काल फरार भएका छन् । लुटपाटको उदेश्यले चारकोसे क्षेत्रमा गोली प्रहार गरी हत्या भएको र पछिल्लो समय लुटपाटका घटनामा समेत वृद्वि भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
पीडित परिवारले भने दोषी पत्ता नलाग्दा पीडा झन् बल्झिरहेको बताउँदै आएका छन् । प्रहरी अनुसन्धानमा मात्रै सीमित बन्दा झनै समस्या भइरहेको पीडित परिवारको भनाई छ ।
परिवारले घटनामा संलग्नको पहिचान गरी पक्राउ गरेर कडा कारबाहीको माग राखेका छन् ।
यो पनि – इटहरी– धरान सडक खण्डमा हत्या प्रकरण : मृतक रोहितको घरमा जन्मदिन मनाउने तयारी थियो…
यो पनि – इटहरी–धरान सडकखण्डको सेउती पुलमा गोली हानेर एक युवकको हत्या
Discussion about this post