इटहरी : इटहरी–धरान सडकखण्डस्थित चारकोसे झाडीमा गत साउन ५ गते गोली प्रहार गरी हत्या घटनामा संलग्न थप दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
सेउती पुल नजिक भएको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थप दुईजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका १ घर भई धरान ८ बस्ने ३० वर्षीय प्रकाश लिम्बू र विराटनगर महानगरपालिका १५ का ४१ वर्षीय अजय कुमार शर्मा रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकारी ऋषिराम कँडेलले जानकारी दिए ।
उनका अनुसार विराटनगर ५ का २८ वर्षीय रोहित चौधरीलाई लुटेरा समूहले गोली हानी हत्या गरेको थियो ।
कोसी प्रदेश प्रहरी कार्यालय विराटनगर, संघीय प्रदेश प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय इटहरीको टोलीले उनीहरूलाई बिहीबार पक्राउ गरेको कँडेलले जानकारी दिए ।
पक्राउ परेका शर्मा घटनामा प्रयोग भएको हतियार बेचबिखनमा संलग्न रहेको तथा लागूऔषध मुद्दामा ४ वर्ष ८ महिना कैद भुक्तान गरी ४ महिना अघि छुटेको व्यक्ति भएको प्रहरीले जनाएको छ।
प्रहरीले यसअघि मोरङको लेटाङ नगरपालिका १ का ३५ वर्षीय पर्वत भनिने दीपक तिमिल्सिना र धरान उपमहानगरपालिका १४ का ३४ वर्षीय अनसन तामाङलाई पक्राउ गरी सार्वजनिक गरिसकेको छ ।
पक्राउ परेका उनीहरूमाथि इलाका प्रहरी कार्यालय इटहरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो पनि – इटहरी–धरान सडक खण्डमा हत्या प्रकरण : लुटपाट गर्न खोज्दा प्रतिकार गरेपछि गोली हानी हत्या













Discussion about this post