इटहरी : इटहरीमा अवैध रूपमा नेटवर्किङ धन्दा चलाउने तीनवटा कम्पनीमा उपमहानगरपालिकाले ताला लगाएको छ ।
इटहरीलाई केन्द्रबिन्दु बनाएर अवैध रूपमा सञ्चालनमा ल्याएको कम्पनीहरूमा उपमहानगरले अनुगमनको क्रममा तालाबन्दी गरेको हो ।
मेयर हेमकर्ण पौडेलले अवैध रूपमा नेटवर्किङ धन्दा गर्दै सर्वसाधरणलाई ठगी गर्ने गरेको भन्दै कम्पनीमा तालाबन्दी गरेर कम्पनीका सन्चालकलाई तीन दिनभित्र उपमहानगरमा उपस्थित हुन निर्देशन दिएको बताए ।
नेटवर्किङको नाममा ठगी धन्दा सुरु भएको भन्दै उजुरी परेको कारण अहिले उपमहानगरले अभियानकै रूपमा अनुगमन गरिरहेको छ ।
कम्पनीमा आबद्व व्यक्तिहरूले आफ्नो सम्पर्कमा रहेका र नयाँ चिनजानसमेत गरी उनीहरूलाई सामान्य व्यापार व्यवसाय र जागिरहरूको तुलनामा अथाह पैसा कमाउन सकिने आश्वासन बाड्ने गरेको पाइएको पौडेलले बताए ।
इटहरीमा रहेको ग्लोबल ओरेन्स, हेल्दी लिभिङ नेपाल र रोयल एसोसेट नामक कम्पनीमा तालाबन्दी गरिएको हो । ऐन, नियमावलीमा नेटवर्किङ र पीरामिड शैलीको व्यापार व्यवसाय गर्न नपाइने उल्लेख भए पनि कम्पनीहरूले गरिरहेको पाइएको हो ।
जटिल रोग निको पारिने भन्दै सयौं सर्वसाधारणबाट आफ्ना उत्पादन उपलब्ध गराउँदै रकम लिने गरिएको छ । अझ सदस्य बनाएबापत औषधि छुट मूल्यमा पाउने तथा बोनस दिलाइने भन्दै सर्वसाधारणसँग लाखौंको कारोबार गर्दै आएको छ ।
गैरकानुनी रूपमा बनाइएका सदस्यहरूलाई कम्पनीले कमाएको मुनाफा वितरणमा बढी ‘बिक्री’ भए बढी कमाइने र कम ‘बिक्री’ भए थोरै कमाइने भनेर सिकाउँदै आएका छन् ।
सोहीअनुसार बढी पैसा असुल्ने अरु विभिन्न नामका योजना कम्पनीले बनाएको भन्दै अनुगमनको क्रममा बन्द गरिएको हो । कम्पनीहरूले इजाजत एउटाको लिने, काम अर्कै गर्ने गरेको पाइएको अनुगमन समितिकी संयोजक, उपमेयर संगीता चौधरीले बताइन् ।
Discussion about this post