इटहरी : इटहरी उपमहानगरपालिकाभित्र भर्खरै तीन सय प्रतिशत भन्दा बढी कर बढाउन नेतृत्व गर्नुहुने इटहरीका मेयर हेमकर्ण पौडेललाई नमस्कार ।
स्थानीय तहको पछिल्लो चुनाव वैशाखमा एक वर्ष भएरपनि पाँच महिना बित्न लाग्यो । यस अवधिमा इटहरीको ट्याङ्ग्रा खोलामासमेत धेरै पानी बग्यो होला । ट्याङ्ग्रा किनारमा रहेको इटहरी उपमहानगरको सिंहदरबार बाट पनि धेरै मुद्दाहरू बग्दै बाहिर निस्कँदै छन् ।
पछिल्लो पटक हजुरको सिंहदरबारबाट शासकको महिमत्ताको गन्ध सहित निस्किएको करको करकरे हावाले अहिले इटहरीवासीमा दुर्गन्ध बढेको तपाईँ जानकार नै हुनुहुन्छ होला ।
हुन त, तपाईँले इटहरीमा सुगन्ध फैलाउनु हुन्छ भन्ने विश्वासमा एक वर्ष, केही महिना अगाडिसम्म इटहरीका बहुसङ्ख्यक जनता आशातीत थिए । त्यही भएरपनि होला इटहरीका २० वटा वडामध्ये १५ वटा वडा नेकपा एमालेले जित्दासमेत नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्नुहुने तपाईँलाई मेयरमा जनताले पत्याए । इटहरीलाई समृद्ध बनाउन तपाईँको योगदान रहन्छ भन्ने आत्मविश्वास मलाई पनि थियो, आम जनतालाई पनि ।
तर, मेयर साब मेयरको कुर्सीमा बसेपछि तपाईँ मात्तिनु भयो कि, आत्तिनु भयो ? अलि परको विगत तपाईँको जे सुकै होस् । त्यसमा म जान चाहन्न, विगतमा अल्झिनु हुँदैन पनि । समयको त्यो कालखण्ड सम्झिने हो भने, तपाईँ मेयरमा निर्वाचित हुनु अगाडिको तपाईँको स्वभाव त ठिकै थियो ।
लोकतन्त्रमा तपाईँको विश्वास त देखिएकै थियो । तर, किन अचानक अहम्ता र स्वेच्छाचारी भावना बढ्यो ? तपाईँमा सत्ताको राप कि बढ्यो कि, शक्तिको आलाप ?
तपाईँ उपमहानगरको मेयर बन्दै गर्दा करोडौँको विशाल भवन बन्दै थियो, अहिलेपनि निर्माणकै क्रममा छ । पुराना मेयर बस्ने सुविधा पर्याप्त टहरोमा तपाईँलाई सहजै बस्ने ठाउँ पनि थियो । एसीसहितको सुविधा छ । शासकहरूले प्रयोग गर्ने गोप्पे कोठा थियो । टेवुल थियो । घुम्ने कुर्सी थियो । थिएन चाहिँ के त्यहाँ ?
तर, तपाईँलाई त्यो ठाउँ त नफाप्ने भयो भन्ने यदाकदा सुनिन्छ । एउटा तान्त्रिकको इशारामा अर्कै टहरो बनाउनुपर्ने अवस्था आयो । हुन त सयौँ गुणा कर बढाएकै छ, सेवाग्राहीले पार्किङ गर्ने ठाउँ मासेर लच्छिनको टहरो बनाउँदा के जान्छ र ? भन्ने नै त होला नि । नत्र भने हुँदाखादैको बस्ने ठाउँ हुँदाहुँदै पार्किङ मासेर टहरो बनाउनु पर्ने के आइलागेको थियो मेयर साप ?
कि, इटहरी उपमहानगरको कार्यालय हाताभित्र जनताले पार्किङ गर्ने हैसियत राख्दैनन् ? कि, गाडी जतासुकै राख् यो मेरो इलाका हो भन्ने सोच हो ? हुन त मैले सोच भनेर लेख्नै पर्दैन थियो । किनकि, त्यो सवालमा जनताको नियमितको अनुभूति नै काफी देखिन्छ ।
हुन त, तपाईसँग त प्रकाण्ड–प्रकाण्ड विद्वान छन् । विज्ञले सुझाव दिए होलान् पक्कै । कर बढाऔँ मेयर साप, बालै फरर।
टहरो बनाउने मात्र हैन, सचिवालय पनि आधुनिक डिस्कोमा देखिने बाउन्सरको सङ्ख्या भन्दा कम छैन । हुन त, उपमहानगरको कार्य स्टाइल सीमित साउँहरूको क्लबभन्दा माथिको त छैन । कर बढाउने हो, कहाँ खर्च गर्नु भर्ती गराउन आफ्ना मान्छेहरू भन्ने लागेको पनि होला ।
उपमहानगरलाई निजी कम्पनी जस्तो चलाएको कुरा मेरो आरोपनामा मात्र हैन है, मेयर साब । लाखौँ रकमबाट खरिद डस्टबिन, सिएफएलको बत्ती कहाँ गए भनेर कार्यपालिका बैठकमै तपाईँमाथि तपाईँका सदस्यले उठाएको प्रश्नबाट नै मेरो आरोपको पुष्टि पनि भएको छ ।
मेयर साब,
तपाई, आफूलाई लोकतन्त्रको हिमायती भनेर चिनाउने तपाईँले आफ्ना कर्मचारीलाई नगरपालिकाको विषयमा टिप्पणी वा खबरदारी नगर्न चेतावनी दिनु भएको छ रे । ठिकै छ, कर्मचारीले काम गर्ने हो । सरकारको खुद्रे आलोचना गर्दै बस्ने पनि हैन ।
तर, उपमहानगरको विरोध गर्दा आफ्ना कर्मचारी जनतालाई जथाभावी भनेको विषय चाहिँ तपाईँले नियमन गर्नु पर्दैन ? कि कार्यालयको कामको अतिरिक्त विपक्षीलाई काउन्टर गर्नु भनेर तपाईँले नै कर्मचारीहरूलाई आदेश दिएको हो ?
अलि लेख्न पनि डर लाग्छ मेयर साब तपाईँको विरुद्ध त ! आफ्नो बच्चालाई स्कूल पुर्याउन ठिक्क पारेको बेला आज स्कुल बन्द भनेर हजुरलाई आक्रोश पोखेपछि ती अभिभावकलाई पुलिस लगाएर थुनाएको विषय सम्झिदा पनि डर लाग्छ ।
तपाई सामाजिक सञ्जालको राम्रो युजर हो नि । किनकि, मेरा प्रतिनिधिहरु पनि सूचना प्रविधिमा जानकार छन् भन्नेमा मलाई खुशी लाग्छ यस्ता कुराबाट । तर आँफूले सामाजिक सञ्जाल प्रयोग गर्दा विद्वान र अरूले त्यही सामाजिक सञ्जालबाट तपाईँप्रति आलोचनात्मक कुरा राख्दा बकवास हुन्छ ?
अहिले हरेक नागरिकले आफ्ना प्रतिनिधिको कामलाई नजिकबाट नियालिरहेका हुन्छन् ।
हुन त मेयर साप, तपाईँलाई विरोध गर्न नै नहुने रहेछ भन्ने उदाहरण टोल विकास संस्थाको विरुद्धकै अभिव्यक्तिबाटै देखिन्छ ।
कर बढ्यो, घटाइदेऊ सरकार भनेर टोलका प्रतिनिधिले आफ्नो कुरा राख्दा नगरबाट पैसा लाग्ने, नगरलाई गाली गर्ने ? भनेर दिएको अभिव्यक्ति त बहुत गैरजिम्मेवार हो नि हैन र ?
अन्त्यमा, मेयर साब
जनताको ढाड सेक्नेगरी गरिएको राजस्व वृद्धि फिर्ता गरेर जनतालाई राहत दिन अहम् भूमिका निर्वाह गर्नुहुन समेत अनुरोध गर्दछु ।
राजस्व वृद्धिको आलोचना तपाईँले म माथिको प्रहार हो, यसलाई कुनै हालतमा घटाउँदिन भन्ने भन्ने हठ तपाईं गरिरहनु भएको छ, त्यो पटक्कै सुहाएन । जनताको सुझाव मान्नु तपाईंको कर्तव्य हो । जनप्रतिनिधिले आँफूलाई जनताको सेवक ठान्नुपर्छ । शासक ठान्ने भूल नगर्नुस् ।
यो लेखमा कुनै आवेग कुण्ठा पोखिरहेको छैन । तपाईँले गरेका गतिविधि जस्ताको त्यस्तै लिपी मात्र गरेको हो । जय नेपाल ।
(कार्की नेकपा एमाले इटहरी वडा नं. ४ का अध्यक्ष छन् । यो लेख उनको निजी हो ।)
Discussion about this post