इटहरी : इटहरीमा ‘मिस स्कूल’ सुन्दरी प्रतियोगिता सुरु भएको छ । इटहरी आर्ट एण्ड फाउन्डेशनले आयोजना गरेको प्रतियोगितामा १२ वर्षदेखि १६ वर्ष उमेरसमूहका बालिकाहरू सहभागी छन् ।
फाउन्डेशनका अध्यक्ष तुलसी घिमिरेका अनुसार प्रतियोगितामा कूल २५ बालिकाहरू सहभागी छन् ।
यो उमेर समूहमा आइपर्ने महिला तथा बालबालिका सम्बन्धी समस्याबारे उनीहरूलाई विभिन्न तालिममार्फत जानकारी गराइने र समस्या पर्दा आफैँ समाधान गर्न सकिने बनाइने घिमिरेले बताए ।
‘महिनावारी भएको समयमा बालिकाहरूमा आइपर्ने समस्याबारे स्त्री रोग विशेषज्ञ डाक्टरबमा काउन्सिल गराउने तयारी भइरहेको छ,’ उनले भने, ‘पछिल्लो समय बालबालिकाहरूमा देखा परिरहेको मानसिक रोग सम्बन्धी पनि सचेतना गराउने तयारी गरेका छौँ ।’
बालिकाहरू विभिन्न समयमा, विभिन्न ठाउँमा, विभिन्न किसिमबाट असुरक्षित रहेकाले समेत त्यस अवस्थामा आँफूलाई सुरक्षित बनाउनका निम्ति पनि प्रशिक्षण दिइने उनले बताए ।
करिब २० दिनको तालिमपछि बालिकाहरूबीच सुन्दरी प्रतियोगितासमेत हुनेछ ।
प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय छनौट गरिनेछ । विजेताले क्रमशः नगद २५ हजार, १५ हजार र १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यससँगै अन्य विभिन्न उपाधिसमेत हात पार्ने आयोजकले जनाएको छ ।
Discussion about this post