इटहरी : कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले साउन महिनामा प्रदेश भरीबाट उत्कृष्ट कार्य गर्ने दुईजना प्रहरीलाई सर्वोत्कृष्ट प्रहरी (बेष्ट पुलिस अफ दि मन्थ) घोषणा गरेको छ ।
विभागीय मूल्य मान्यता, आदेश निर्देशनको पालना गरी उच्च मनोवलका साथ आफ्नो कर्तब्य निर्वाह गरेको भन्दै प्रादेशिक अनुसन्धान समूहमा कार्यरत प्रहरी सहायक निरीक्षक किरण मगर र जिल्ला प्रहरी कार्यलय खोटाङमा कार्यरत प्रहरी सहायक निरीक्षक सृजना राईलाई सर्वोत्कृष्ट प्रहरी घोषणा गरी पुरस्कृत गरेको हो ।
पुरस्कृत भएका प्रहरी सहायक निरीक्षक मगरले धरानको जंगल एरियामा श्रृंखलाबद्ध रुपमा भएको लुटपाट र श्रावण ५ गते सेउती पुल नजिक लुटपाट गर्ने क्रममा गोली प्रहार गर्ने समुहको सुक्ष्म अनुसन्धान गरेर पक्राउ गर्न सफल भएका थिए ।
यस्तै, खोटाङकी प्रहरी सहायक निरीक्षक राईले २०७८ पौष ८ गतेदेखि हराइरहेका खोटेहांङ गाउँपालिका ३ का १६ बर्षीय राजेश राईको खोजतलास गरी भारतबाट नेपाल ल्याउने महत्वपूर्ण भुमिका निर्वाह गरेकी थिइन् ।
उनले छिमेकी राष्ट्र भारतको जम्मु काश्मिर उदमपुरको पलास बाल आश्रममा रहेको सूचना पश्चात देल्ली सी.डब्लु.सी। नामक संस्थासंग आवश्यक समन्वय गरी नेपाल ल्याउन भुमिका खेलेकी थिइन् ।
प्रदेश प्रहरी कार्यालय विराटनगरले यसअघिदेखि नै प्रदेश भरीबाट उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरू छनौट गरी प्रत्येक महिना सर्वोतकृष्ट प्रहरी घोषित गरी पुरस्कृत गर्दै आइरहेको छ ।














Discussion about this post