इटहरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज गोलीकाण्डमा घाइते भएका अर्का एक युवकको उपचारका क्रममा मृत्यु भएपछि घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ।
देवानगञ्ज–३ का २१ वर्षीय रवीन्द्रकुमार मेहताको काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मंगलबार बिहान उपचारकै क्रममा मृत्यु भएको हो।
उनी विराटनगरको विराट नर्सिङ होममा उपचाररत रहेकामा स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि गत शुक्रबार एयर एम्बुलेन्समार्फत काठमाडौं लगिएको थियो।
मृतकका आफन्त राजेश मेहताका अनुसार रवीन्द्रको स्वास्थ्यमा अपेक्षित सुधार हुन सकेको थिएन। गोली लागेर बायाँ तिघ्राको नसामा गम्भीर क्षति पुगेपछि उनको खुट्टा काट्नुपरेको थियो।
त्यसपछि थप विशेषज्ञ उपचारका लागि काठमाडौं लगिए पनि चिकित्सकले बचाउन सकेनन्।
रवीन्द्रको शव गृह जिल्ला सुनसरी ल्याउने प्रक्रिया सुरु भएको परिवारले जनाएको छ।
साउन १० गते देवानगञ्ज–३ कप्तानगञ्जमा दुई पक्षबीचको विवाद हिंसात्मक बनेपछि अवस्था नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाउँदा १० जना घाइते भएका थिए।
घटनाको दिन नै देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। त्यसपछि उपचारकै क्रममा देवानगञ्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको विराटनगरस्थित न्युरो अस्पतालमा निधन भएको थियो।
रवीन्द्रको मृत्युसँगै कप्तानगञ्ज गोलीकाण्डमा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ। यस घटनामा घाइते भएका अन्य सात जनाको उपचार अझै जारी छ।












Discussion about this post