इटहरी : अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले घुस रकमसहित जिल्ला नापी कार्यालय झापाका एक कर्मचारी र बिचौलियालाई पक्राउ गरेको छ ।
इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयको टोलीले नापी कार्यालयका सर्भेक्षक देवनारायण ठाकुर र बिचौलिया उमेश यादवलाई घुस रकमसहित पक्राउ गरेको हो । उनीहरूले जग्गा कित्ताकाट गरेबापत सेवाग्राहीसँग घुस रकम मागेका थिए ।
भद्रपुर ७ स्थित एक फलफूल पसलमा सेवाग्राहीसँग नगद ७० हजार रुपैयाँ र ५५ हजार रुपैयाँको चेकसहित जम्मा १ लाख २५ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियारको टोलीले उनीहरूलाई रङ्गेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि इटहरी ल्याइएको छ ।
Discussion about this post