इटहरी : कवि नवीन प्राचिनको एकल कविता वाचन भएको छ ।
इटहरीस्थित संगीत साधना प्रतिष्ठानको हलमा आइतबार कवि प्राचिनको एकल कविता वाचन कार्यक्रमको आयोजना राखिएको हो । ११५ औँ लक्ष्मीजयन्तीको अवसर पारेर कविता वाचन राखिएको हो ।
कवि प्राचिनले आधा दर्जन बढी कविता सुनाएका थिए । कार्यक्रममा इटहरीसहित विभिन्न ठाउँबाट आएका प्रतिष्ठित कवि, लेखकहरू सहभागी थिए ।
एकल कविता वाचनअघि महाकवि लक्ष्मीप्रसाद देवकोटाका प्रतिनिधि कवितासमेत वाचन गरिएको थियो । कविता वाचनअघि कवि मनु मञ्जिलले देवकोटालाई कुनै सरकारले नभइ जनताले महाकविको उपाधि दिएको बताए ।
‘महाकाव्यको भाषालाई कविता मानिन्थ्यो, त्यसबेला । अहिले महाकाव्यको भाषा वाचन गर्दा अनौठो हुन्छ,’ उनले भने, ‘देवकोटाले मुनामदन लेखेपछि उनलाई महाकवि भनियो । महाकविको उपाधि जनताले दिए । कुनै सरकारले होइन ।’
युवराज काफ्लेको संयोजकत्वमा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा सदस्य अशोक चौधरी प्रमुख अतिथि थिए ।
Discussion about this post