तरहरा : इटहरी–धरान सडखकण्डमा पर्ने चारकोसे झाडी अन्तर्गत पर्ने सामुदायिक वनबाट भएको काठ तस्करी प्रकरणमा सामुदायिक वनका अध्यक्षले आत्मसमर्पण गरेका छन् भने तीन जनाविरुद्व पक्राउ पूर्जी जारी भएको छ ।
इटहरी उपमहानगरपालिका १९ तरहरास्थित ब्रह्मपुर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मनोज तामाङले मङ्गलवार साँझ वन कार्यालयमा आत्मसमर्पण गरेका हुन् ।
तामाङले इलाका प्रहरी कार्यालय धरानमा आत्मसमर्पण गरेको डिभिजन वन कार्यालय सुनसरीका निमित्त प्रमुख धर्मनाथ यादवले जानकारी दिए । उनका अनुसार तामाङविरुद्ध वन ऐन २०७६ अनुसार मुद्दा चलाउन थप अनुसन्धान अगाडि बढाइएको छ ।
प्रारम्भिक अनुसन्धानबाट तामाङलगायतको संलग्नतामा सामुदायिक र राष्ट्रिय वनबाट बहुमूल्य सखुवा तथा अन्य जातका काठ तस्करी भइरहेको खुलेको यादवले बताए ।
वन कार्यालयले सामुदायिक वनसँग आबद्ध अन्य ३ जनाको हकमा पक्राउ पूर्जी जारी गरेको छ ।
ब्रह्मपुर सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष टेकबहादुर बस्नेत, उपभोक्ता समिति सदस्य एवं वन हेरालु आशिष तामाङ र वन हेरालु पेम्बा तामाङलाई पक्राउ गर्न अदालतबाट अनुमति लिइएको सुनसरीका निमित्त डिभिजन वन अधिकृत यादवको भनाइ छ ।
उनका अनुसार अदालतबाट अनुमति लिएर गत सोमबार पक्राउ पूर्जी जारी गरिएको हो ।
काठ तस्करीमा संलग्नता देखिएपछि सुरुमा वन कार्यालयले अध्यक्ष तामाङ, उपाध्यक्ष बस्नेतसहित ४ जनालाई सव डिभिजन वन कार्यालयमा हाजिर हुन पत्र काटेको थियो ।
पछिल्लोपटक भने वन कार्यालयले अदालतबाट अनुमति लिएर पक्राउ पूर्जी जारी गरेको हो । पक्राउ पूर्जी जारी गरिएकामध्ये तामाङले मात्रै आत्मसमर्पण गरेका हुन् भने बाँकी तीनजनाको खोजप् भइरहेको छ ।
हाँसपोसा सामुदायिक वनदेखि सखुवा जातको १ सय ९३ दशमलव ४५ क्वीफिट तथा राष्ट्रिय वनदेखि सखुवाको २ सय ३८ दशमलव ८४ र कुम्भीको १ सय ६८ दशमलव ४५ क्वीफिट काठ तस्करी गरेर ब्रह्मपुरको ढोड घारी पुर्याइएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको थियो ।
हाँसपोसा सामुदायिक वनको जंगल क्षेत्रमा जेसीबी र ट्याक्टरसहितको प्रयोगबाट काठ तस्करी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
यो पनि – तरहराको जंगलबाट ‘सेटिङ’मा काठ तस्करी, गिरोह नै रहेको आशंका














Discussion about this post