गत बिहीबार राती सुनसरीमा नेपाल प्रहरी र अपराधिक गतिविधिमा सक्रिय समूहबीच गोली हानाहान भएको घटना सेलाउन नपाउँदै सुनसरीमा फेरि शशस्त्र प्रहरी र स्थानीयबीच गोली हानाहान भएको छ ।
सुनसरीमा दुई दिनको अवधिमा दुईपटक गोली चलेको छ । बिहीबार राति जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी निरीक्षक सरोज खनाल नेतृत्वको प्रहरीको गस्ती टोली र आपराधिक समूहबीच गोली हानाहान भयो ।
जिल्लाको पश्चिमी क्षेत्र देवानगञ्ज–३ पानीट्याङ्की नजिक भारतीय मोटरसाइकलमा आएका व्यक्तिहरूलाई चेकजाँच गर्न खोज्दा देवानगञ्ज–२ का २३ वर्षीय पिन्टु यादव, सोही स्थानका ३२ वर्षीय राजेश यादव र अन्य ३–४ जनाको समूहले प्रहरीमाथि फायर खोली भाग्ने क्रममा प्रहरीले जवाफी फायर खोल्दा पिन्टु र राजेशको खुट्टामा गोली लागेर उनीहरु घाइते भएका थिए ।
घटनास्थलबाट प्रहरीले पिन्टु र राजेशको साथबाट एक थान पेस्तोल, ६ राउण्ड गोली र २ थान म्यागजिनका साथै दुईवटा मोटरसाइकल बरामद गरेको छ ।
उक्त घटना सेलाउन नपाउँदै सुनसरीमा शुक्रबार राती पनि गोली चलेको छ । सुनसरीको हरिनगरा ७ स्थित घुस्कीमा सुरक्षाकर्मीको गोली लागेर स्थानीय एकजना युवा गम्भीर घाइते भएका छन् ।
सीमा सुरक्षा बल सुनसरीका अनुसार शुक्रबार राति साढे ९ बजेको समयमा भारतबाट अवैध रूपमा सामान ल्याउने विषयमा विवाद हुँदा गोली चलेको थियो । सीमा सुरक्षा बल सुनसरीका डीएसपी मित्रलाल श्रेष्ठका अनुसार अवैध रुपमा ल्याएको सामानबारे सोधपुछ गर्ने क्रममा स्थानीले प्रहरीको सुरक्षा सामाग्री खोस्न खोजेपछि गोली चलेको हो ।
‘भारतबाट अवैध सामान ल्याउँनेहरुनै सुरक्षाकर्मीको बिरुद्धमा आक्रमण भएपछि गोली चलाउँन बाध्य भईएको हो ।’ उनले भने ।
उनका अनुसार गोली लागेर स्थानीय हरिनगरा गाउँपालिका वडा नम्बर ७ घुस्कीका २० वर्षीय सुवाद अन्सारी गम्भीर घाइते भएका छन् । अन्सारीको धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यी माथि उदृत गरिएका दुई घटना प्रतिनिधि घटना मात्र हुन् । प्रहरीका अनुसार सुनसरीमा अवैध रुपमा भारतबाट आएको सामान चेकजाँच गर्ने क्रममा स्थानीयसँग पटक–पटक विवाद हुँदै आएको छ ।
२३ असोज ०७५ मा नेपाल–भारत सीमास्थित सुनसरीको कोशी गाउँपालिका–७ मुसहरी टोलमा नेपाल प्रहरीको गोली लागी एकजना डाका मारिएका थिए ।
हतियारसहित चौपाया चोरी गर्न सीमावर्ती क्षेत्र छिरेको डाका समूहले गस्तीमा खटिएका प्रहरी टोलीमाथि आक्रमण गर्दा प्रहरीको जवाफी कारबाहीमा सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिकाका बासिन्दा नसरुल मियाँको मृत्यु भएको थियो ।
त्यसो त सुनसरीलाई अपराधिक गतिविधिका हिसाबमा संवेदनशील जिल्ला मानिएपनि प्रहरीले अपराधिलाई धमाधम पक्राउ गरी कारबाहीको प्रक्रिया अगाडि बढाउन थालेपछि अवैध सामान भित्राउनेहरु चोरबाटो पनि अपनाउँने गरेको सुनसरी प्रहरीको भनाई रहेको छ ।
प्रहरीका अनुसार पछिल्लो समयमा चोरी, डकैती, लुटपाट, अपहरणजस्ता गैरकानूनी क्रियाकलाप गर्ने उद्देश्यले हातहतियार प्रयोग गर्ने क्रम पनि बढ्दो रहेकाले सुरक्षा संयन्त्रमा ध्यान दिईएको जिल्ला प्रहरी कार्यालय सुनसरीको भनाई रहेको छ ।
Discussion about this post