इटहरी : शनिबार बिहान करिब ९ बजेतिर इटहरी २० तरहराको भीडमा अनौठो दृश्य देखियो ।
तरहरा रन कार्यक्रममा १० किलोमिटर दौड पूरा गरेर थकित मुद्रामा बसिरहेका एक हजार पाँच सयभन्दा बढी मानिसहरूको भीडमा देखिएको उक्त दृश्यले मानिसहरूलाई भावुक मात्रै बनाएन, उत्प्रेरित पनि बनायो ।
ती अनौठो दृश्यमा देखिएका मानिस हुन्, इटहरी २० तरहरास्थित सुन्दर टोलका हेमकुमार विष्ट । उनको दाहिने खुट्टा गुमेको छ । खुट्टा गुमेपनि उनले बैशाखी टेकेर शनिबार १० किमि दौड पूरा गरे ।
‘मैले जित्न त कुदेको होइन, तर स्वास्थ्य रहनका लागि कुद्नुपर्छ भनेर कुदेको हुँ,’ विष्टले टाकुरा न्यूजसँग भने, ‘बैशाखीकै सहारामा अरुजस्तै कुद्दा पनि रमाइलो भयो ।’ उनले अरुजस्तै छिटो कुद्न नसकेपनि बैशाखीको सहाराले १० किमि दौड पूरा गर्दा आनन्ददायी अनुभूति भएको बताए ।
१२ वर्षअघि सवारी दुर्घटनामा उनको दाहिने खुट्टा गुमेको थियो । खुट्टा गुमेर बैशाखीकै सहारामा जीवनयापन गरिरहेका उनी दौड प्रतियोगितामा सहभागी हुँदा आम मानिसलाई उत्प्रेरणा मिलेको खासखुस गरिरहेका थिए ।
उमेरले २० वर्ष पूरा भएका विष्टले १ घण्टा २५ मिनेटमा १० किलोमिटर दौड पूरा गरेको सुनाए ।
‘मैले यो किसिमको दौडमा पहिलोपटक सहभागी भएको हुँ,’ उनले भने, ‘अरुलाई पनि मोटिभेट होस् भनेर आज फरक किसिमको कार्यक्रममा सहभागी भएको हुँ ।’
शरीरका अंग गुमेपनि मान्छेले चाहेको अवस्थामा पूरा गर्न सकिने उनको भनाइ छ । ‘मान्छेले हेरिरहँदा रमाइलो भयो,’ विष्टले थपे, ‘म आफैंलाई पनि रमाइलो भयो । हुन त कुद्ने क्रममा जित्नै पर्छ भन्ने होइन ।’
उक्त दौड प्रतियोगितामा विभिन्न स्थानबाट आएका एक हजार सात सय धावक दौड प्रतियोगितामा सहभागी भएका थिए । प्रतियोगिता विभिन्न सात विधामा आयोजना गरिएको थियो । विधागततर्फका विजेताहरूलाई पुरस्कृत गरिएको छ ।
भिडियो
यो पनि – ‘तरहरा रन’मा एक हजार सात सय धावक सहभागी (१८ तस्वीरहरूसहित)
Discussion about this post